काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न भएकोमा नेपाल सरकार तथा नेपाली नागरिकलाई बधाई दिएका छन् ।
नेपालमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन लागिरहेका बेला नयाँ दिल्लीबाट आएको मोदीको सन्देशलाई कूटनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। उनले नेपाली जनताले आफ्नो लोकतान्त्रिक अधिकार सक्रिय रूपमा प्रयोग गरेकोमा प्रशंसा व्यक्त गरेका छन्।
फेसबुकमार्फत सार्वजनिक सन्देशमा मोदीले नेपालको लोकतान्त्रिक अभ्यासलाई महत्वपूर्ण उपलब्धिको रूपमा चित्रित गरेका छन्। उनले यसलाई नेपालको लोकतान्त्रिक यात्रामा स्मरणीय क्षणका रूपमा उल्लेख गरेका छन्।
नेपालमा राजनीतिक स्थिरताको खोजी भइरहेका बेला आएको मोदीको बधाई सन्देशले दुई देशबीचको सहकार्य र आपसी सम्बन्धलाई थप सुदृढ बनाउने संकेत गरेको विश्लेषण गरिएको छ। उनले भारत सधैं नेपालको विश्वासिलो छिमेकी र मित्रका रूपमा साथ रहने बताएका छन्।
मोदीका अनुसार भारत नेपालका जनता र आगामी सरकारसँग सहकार्य गर्दै साझा शान्ति, विकास र समृद्धिका लक्ष्य हासिल गर्न प्रतिबद्ध छ।
पछिल्ला वर्षहरूमा नेपाल–भारत सम्बन्ध ऊर्जा व्यापार, भौतिक पूर्वाधार तथा कनेक्टिभिटीका क्षेत्रमा विस्तार हुँदै आएको छ। कूटनीतिक विश्लेषकहरूका अनुसार मोदीको पछिल्लो सन्देशले नयाँ बन्ने सरकारसँग सहकार्य अझ मजबुत हुने संकेत दिएको छ।