स्वकीय सचिव राख्ने सांसद १७३ पुगे, अझै १४२ जना बाँकी
काठमाडौं । संघीय सांसदले स्वकीय सचिव राख्न पाउने सुविधा पुनः सुरु भएको एक महिनाभन्दा बढी भइसक्दा पनि सबै सांसदले यसको प्रयोग गरिसकेका छैनन्। भदौ ९ गतेसम्म १७३ जना सांसदले स्वकीय सचिव नियुक्त गरिसकेका छन् भने १४२ जना अझै छनोट र नियुक्तिको प्रक्रियामा छन्।
प्रतिनिधिसभाका २७५ र राष्ट्रिय सभाका ५९ गरी कुल ३३४ सांसदले स्वकीय सचिव राख्न पाउने व्यवस्था सरकारले पुनः लागू गरेको थियो। गत असार ३० गते मन्त्रिपरिषद्ले यससम्बन्धी निर्णय गरेपछि साउन ४ गते नेपाल राजपत्रमा सूचना प्रकाशित भएको थियो। त्यसको भोलिपल्ट संघीय संसद् सचिवालयले सांसदलाई स्वकीय सचिव नियुक्त गरी जानकारी गराउन आग्रह गरेको थियो।
राष्ट्रिय सभाका दुई सिट रिक्त रहेकाले हाल कायम सदस्य संख्याका आधारमा स्वकीय सचिव नियुक्त गर्न बाँकी सांसदको संख्या १४२ रहेको संसद् सचिवालयले जनाएको छ। नियुक्ति गरिसकेका १७३ जनाको संख्यामा संसद्का पदाधिकारीसमेत छन्। तर मन्त्रिपरिषद्का १७ सदस्य भने यस विवरणमा समावेश छैनन्।
शाखा अधिकृतसरह सुविधा
सांसदले पाउने स्वकीय सचिवको पद राजपत्रांकित तृतीय श्रेणी अर्थात् शाखा अधिकृतसरहको हो। यसका लागि प्रचलित व्यवस्थाअनुसार कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ।
सांसदले स्वकीय सचिव नियुक्त गरेपछि संसद् सचिवालयमा त्यसको औपचारिक जानकारी गराउनुपर्छ। नियुक्त व्यक्तिको नाम, जन्ममिति, नागरिकता, शैक्षिक योग्यता, स्थायी तथा अस्थायी ठेगाना, बैंक खाता, पारिश्रमिक, स्थायी लेखा नम्बरलगायत विवरण सचिवालयमा बुझाउनुपर्ने व्यवस्था छ।
स्वकीय सचिवको परिचयपत्र बनाउन र पारिश्रमिक उपलब्ध गराउनसमेत सांसदले नियुक्तिसम्बन्धी फारममार्फत संसद् सचिवालयलाई जानकारी दिनुपर्छ।
यसरी सुविधा पुनः सुरु भए पनि सांसदहरूले स्वकीय सचिव छनोटमा आफ्नै मापदण्ड बनाएका कारण नियुक्तिको गति फरक–फरक देखिएको छ। झण्डै आधा सांसदले अझै स्वकीय सचिव नियुक्त नगरेकाले आगामी दिनमा यो संख्या थपिने संसद् सचिवालयको विवरणले देखाउँछ।
