निर्वाचनले लोकतान्त्रिक प्रणालीमा जनविश्वास थपेको छ : ट्रान्सपरेन्सी
टुरिजमफेस
काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसनल ९टिआई०ले यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले लोकतान्त्रिक प्रणालीमा जनविश्वास थपेको बताएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेसनलका अध्यक्ष मदनकृष्ण शर्माले आज एक विज्ञप्ती जारी गरी हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनले लोकतन्त्रलाई थप मजबुद बनाएको धारणा राखेका हुन् । उनले प्राप्त मतपरिणामले नेपाली जनताले परिवर्तनसहित सुशासन र समृद्धिको चाहना राखेकाले अब बन्ने सरकारले जनहितका पक्षमा काम गर्ने विश्वास व्यक्त गरे ।
शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित सम्पूर्ण राजनीतिक दलबाट विजयी जनप्रतिनिधिलाई ट्रान्सपरेन्सी इन्टरनेसनलका तर्फबाट बधाई दिँदै सफल कार्यकालको शुभकामना पनि दिए । उनले अब बन्ने सरकारले युवापुस्ताको भावना र मर्मअनुरुप कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए।
निर्वाचनमार्फत नेपाली नागरिकद्वारा प्रस्तुत विश्वासलाई अब गठन हुने प्रतिनिधिसभा र सङ्घीय सरकारले पूर्ण सम्मान गरोस्, युवाहितका पक्षमा काम गर्दै भ्रष्टाचार नियन्त्रण, सुशासन कायमलगायत विषय केन्द्रमा राखेर काम गर्नुपर्ने शर्माको भनाइ छ ।
निर्वाचनमा मत माग्दा जनतासामु गरिएका वाचाप्रति पूर्ण प्रतिबद्व रही आमनागरिकले सुशासनको स्पष्ट अनुभूति गर्नेगरी सरकारले काम गर्ने ट्रान्सपरेन्सी इन्टरनेसनलले विश्वास लिएको छ ।
