समानुपातिक सिटको अन्तिम टुंगो, रास्वपाको दुईतिहाइ सपना दुई सिटले अधुरो
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको सिट बाँडफाँटको अन्तिम विवरण सार्वजनिक गरेको छ। आयोगका अनुसार समानुपातिकतर्फको सम्पूर्ण मतगणना सकिएपछि प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को व्यवस्था अनुसार दलहरूले प्राप्त गरेको कुल सदर मतका आधारमा सिट निर्धारण गरिएको हो।
आयोगले तोकेको तीन प्रतिशत थ्रेसहोल्ड पार गर्ने छ राजनीतिक दललाई समानुपातिक सिट बाँडफाँट गरिएको जनाएको छ। त्यसअनुसार सबैभन्दा धेरै सिट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको छ।
रास्वपाले समानुपातिकतर्फ ५७ सिट पाएको छ। प्रत्यक्षतर्फ १२५ क्षेत्रमा जित हासिल गरिसकेको रास्वपाको कुल सिट संख्या १८२ पुगेको छ। तर २७५ सदस्यीय प्रतिनिधिसभामा दुईतिहाइ बहुमतका लागि आवश्यक १८४ सिटभन्दा दुई सिट कम परेपछि रास्वपाको दुईतिहाइ बहुमतको लक्ष्य भने अपुग भएको छ।
समानुपातिकतर्फ नेपाली कांग्रेसले २० सिट, नेकपा एमालेले १६ सिट, नेपाली कम्युनिस्ट पार्टीले ९ सिट प्राप्त गरेका छन्। त्यस्तै श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फ ४/४ सिट हात पारेका छन्।
निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेका थिए। प्रत्यक्षतर्फ १ करोड ११ लाख ६८ हजार ३२ मत खसेकोमा १ करोड ५ लाख ५९ हजार १७ मत सदर भएको छ, जुन कुल मतको ९४.५५ प्रतिशत हो।
त्यसैगरी समानुपातिकतर्फ १ करोड १२ लाख ८० हजार ६१७ मत खसेकोमा १ करोड ८ लाख ३५ हजार २५ मत सदर भएको आयोगले जनाएको छ। यो कुल खसेको मतको ९६.०५ प्रतिशत हो।
आयोगले कानुनी व्यवस्था अनुसार सम्बन्धित राजनीतिक दललाई तीन दिनभित्र समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नामावली छनोट गरी पेश गर्न पत्राचार गरिसकेको जनाएको छ।
प्रत्यक्षतर्फको परिणामअनुसार नेपाली कांग्रेसले १८, नेकपा एमालेले ९, नेपाली कम्युनिस्ट पार्टीले ८ र श्रम संस्कृति पार्टीले ३ सिट जितेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार महावीर पुनले पनि एक/एक क्षेत्रमा विजय हासिल गरेका छन्।
