जेटबोट सञ्चालनपछि हतुवागढी–तराई आवतजावत सहज
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट बराहक्षेत्रसम्म सञ्चालनमा आएको जेटबोट सेवाले दक्षिणी भेगका बासिन्दाको यात्रा निकै सहज बनाएको छ। जलमार्ग प्रयोग गर्न थालेपछि धरान, इटहरी र विराटनगरजस्ता तराईका सहरसँगको दूरी उल्लेखनीय रूपमा घटेको स्थानीयले बताएका छन्।
यसअघि दुध कोशी नदी र अरुण नदी जस्ता ठूला नदीमा पुल नहुँदा स्थानीयवासीलाई आवतजावत गर्न कठिनाइ थियो। विशेष गरी वर्षायाममा यात्रा झन् जोखिमपूर्ण हुने गरेको थियो। अहिले अरुण नदीमा जेटबोट चल्न थालेपछि दैनिक आवतजावतमा ठूलो सहजता आएको बताइन्छ।
स्थानीय इन्द्र थापाका अनुसार पहिले भिरालो बाटो हुँदै तीनदेखि चार घण्टासम्म पैदल हिँडेर चतरा पुग्नुपर्ने बाध्यता थियो। तर अहिले जलमार्ग प्रयोग गर्दा करिब १९ किलोमिटर दूरी २०–२५ मिनेटमै पार गर्न सकिने भएको छ।
उनले जेटबोट सञ्चालनले दक्षिणी भेगका बासिन्दालाई ठूलो राहत पुगेको बताए। सडकमार्गमा नदीमा पुल नहुँदा यात्रा असहज भए पनि जलमार्गमार्फत एकै दिनमा तराईका सहर पुगेर फर्किन सक्ने अवस्था बनेको उनको भनाइ छ।
हाल बराहक्षेत्रसम्मको जेटबोट यात्राका लागि प्रतिव्यक्ति करिब ५०० रुपैयाँ भाडा लाग्ने गरेको छ। स्थानीय मिलन राईका अनुसार बिरामी परेमा अब छिट्टै तराईका ठूला अस्पताल पुर्याउन पनि सजिलो भएको छ।
यसअघि भोजपुर सदरमुकाम हुँदै लेगुवा–हिले–धनकुटा मार्गबाट तराई झर्न करिब २०० किलोमिटर यात्रा गर्नुपर्ने बाध्यता थियो। जेटबोट सञ्चालनपछि त्यो दूरी निकै छोटिएको उनले बताए।
गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईका अनुसार जेटबोट सेवाले भोजपुर, धनकुटा र सुनसरी जिल्लालाई पूर्वी तराईसँग जोड्न सहयोग पुर्याएको छ। जलमार्गलाई पर्यटनसँग समेत जोड्ने उद्देश्यले आवश्यक पूर्वाधार विकासका काम अघि बढाइएको उनले जानकारी दिए।
