प्रतिनिधिसभा निर्वाचनमा प्रतिमतदाता खर्च रु २८४
काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रति मतदाता औसत रु २८४ खर्च भएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचनको समग्र प्रतिवेदन राष्ट्रपतिलाई बुझाएपछि आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन खर्चलाई मितव्ययी बनाउने लक्ष्यसहित काम गरिएको जानकारी दिए। उनका अनुसार यसपटक नयाँ सामग्री खरिदमा कटौती गर्दै अघिल्ला निर्वाचनमा प्रयोग भएका सामग्री पुनः उपयोग गर्ने नीति अपनाइएको थियो।
निर्वाचन सामग्री व्यवस्थापनका क्रममा सरकारको स्वामित्वमा रहेका संस्थासँग सहकार्य गरी खरिद प्रक्रिया अघि बढाइएको थियो। कुल ५० प्रकारका निर्वाचन सामग्रीमध्ये ३७ प्रकार प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमार्फतै खरिद गरिएको थियो भने बाँकी १३ प्रकारका सामग्री आयोगले केन्द्रबाट खरिद गरी जिल्लामा ढुवानी गरेको थियो।
आयोगले निर्वाचनका लागि रु ७ अर्ब ८१ करोड ५ लाख ७६ हजार बजेट माग गरेकोमा अर्थ मन्त्रालयबाट रु ६ अर्ब ७६ करोड ६६ लाख ९० हजारको स्रोत सहमति प्राप्त भएको थियो। प्राप्त रकममध्ये हालसम्म रु ३ अर्ब ५४ करोड २८ लाखभन्दा बढी खर्च भइसकेको छ भने केही दायित्वका भुक्तानी प्रक्रिया बाँकी रहेको आयोगले जनाएको छ।
निर्वाचनको पारदर्शिता सुनिश्चित गर्न स्वदेशी तथा विदेशी पर्यवेक्षकलाई समेत सहभागी गराइएको थियो। अन्तरराष्ट्रिय तर्फ २२ कूटनीतिक नियोगका १६४ प्रतिनिधि तथा तीन अन्तरराष्ट्रिय गैरसरकारी संस्थाका पर्यवेक्षक सहभागी भएका थिए भने राष्ट्रिय स्तरमा ३५ गैरसरकारी संस्थाले अनुगमन गरेका थिए।
आयोगले लोकतान्त्रिक अभ्यासलाई सफल बनाउन सक्रिय सहभागिता जनाउने सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गरेको छ। साथै निर्वाचन सम्पन्न गराउन भूमिका खेल्ने संघीय, प्रदेश र स्थानीय सरकार, सुरक्षा निकाय, कर्मचारी, राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम तथा अन्तरराष्ट्रिय समुदायप्रति पनि धन्यवाद ज्ञापन गरेको छ।
यसपटकको निर्वाचन खर्च व्यवस्थापन र स्रोतको मितव्ययी प्रयोगले आगामी निर्वाचनहरूलाई थप व्यवस्थित र किफायती बनाउने आधार तयार भएको आयोगको विश्वास छ।
