शत्रु राष्ट्रसँग सम्बन्धित जहाजलाई रोक, गैर-शत्रु जहाजलाई मात्र होर्मुज प्रयोग अनुमति : इरान
तस्बिरः सिएनएन।
काठमाडौं । विश्व ऊर्जा आपूर्तिको प्रमुख जलमार्ग मानिने स्ट्रेट अफ होर्मुजको प्रयोगबारे इरानले संयुक्त राष्ट्रसंघसमक्ष आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ। इरानले ‘गैर-शत्रु’ जहाजहरूले मात्र आवश्यक समन्वय र सुरक्षा मापदण्ड पूरा गरेर उक्त जलमार्ग प्रयोग गर्न पाउने सर्त अघि सारेको हो।
इरानको विदेश मन्त्रालयले संयुक्त राष्ट्र सुरक्षा परिषद् र अन्तर्राष्ट्रिय सामुद्रिक संगठन (आईएमओ) लाई पठाएको पत्रमा इरानको सुरक्षा नियम पालना गर्ने तथा इरानविरुद्ध कुनै सैन्य गतिविधिमा संलग्न नहुने जहाजलाई मात्र होर्मुज जलडमरूमध्य प्रयोग गर्न दिइने उल्लेख गरिएको छ। अमेरिका र इजरायलसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्बन्धित जहाज, उपकरण वा सम्पत्तिलाई भने प्रवेश नदिने चेतावनी इरानले दिएको छ।
अमेरिका–इजरायल र इरानबीच बढ्दो सैन्य तनावका कारण स्ट्रेट अफ होर्मुजबाट हुने तेल र ग्यास ढुवानी प्रभावित भएको छ। विश्वको करिब २० प्रतिशत तेल तथा प्राकृतिक ग्यास यही मार्गबाट ढुवानी हुने भएकाले अन्तर्राष्ट्रिय बजारमा इन्धन अभाव र मूल्यवृद्धिको दबाब देखिन थालेको छ।
इरानले शत्रु राष्ट्रहरूले जलमार्ग प्रयोग गरेर सैन्य आक्रमण गर्न सक्ने जोखिम रोक्न यस्तो कडा नीति अपनाएको दाबी गरेको छ। लन्डनस्थित अन्तर्राष्ट्रिय सामुद्रिक निकायका सदस्य राष्ट्रहरूलाई पठाइएको सर्कुलरमार्फत इरानले आवश्यक सुरक्षा कदम चाल्न आफू तयार रहेको पनि जनाएको छ।
यस निर्णयसँगै अब स्ट्रेट अफ होर्मुज हुँदै हुने व्यापारिक जहाज आवागमन इरानी अधिकारीको प्रत्यक्ष समन्वय र अनुमतिमा मात्र सञ्चालन हुने संकेत देखिएको छ। एजेन्सीको सहयोगमा
तस्बिरः सिएनएन।
