हेलिकप्टर–ट्रेकिङ कम्पनी–अस्पतालको मिलेमतोमा ‘फेक रेस्क्यु’
काठमाडौं— विदेशी पर्यटकको उद्धार गरेको नक्कली विवरण बनाएर बिमा रकम ठगी गरेको भनिएको ‘फेक रेस्क्यु’ प्रकरणमा पक्राउ परेका ८ प्रतिवादीको जिल्ला अदालत काठमाडौंमा बयान सुरु भएको छ। न्यायाधीश जगतबहादुर पौडेलको इजलासमा उनीहरूको बयान लिने काम अघि बढाइएको हो।
बयान प्रक्रिया सकिएपछि उनीहरूलाई थुनामा राख्ने वा थुनाबाहिर राखेर मुद्दा चलाउने भन्ने विषयमा अदालतले आदेश दिनेछ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले लामो अनुसन्धानपछि हेलिकप्टर कम्पनी, ट्रेकिङ एजेन्सी र अस्पतालबीच मिलेमतो गरी संगठित रूपमा बिमा ठगी गरिएको निष्कर्ष निकाल्दै ३२ जनाविरुद्ध मुद्दा दायर गरेको हो। पक्राउ परेका ८ जनाबाहेक अन्य प्रतिवादी भने फरार छन्। उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत राष्ट्रहित प्रतिकूल काम र संगठित अपराधको कसुरमा कारबाही माग गरिएको छ, जसमा पाँच वर्षसम्म कैद र जरिवानाको व्यवस्था छ।
अनुसन्धानका क्रममा उच्च हिमाली क्षेत्रमा पदयात्रा गर्ने विदेशी पर्यटकलाई स्वास्थ्य समस्या परेको देखाएर हेलिकप्टरमार्फत उद्धार गरिएको झुटो विवरण तयार पारेर बिमा कम्पनीबाट ठूलो रकम असुलिएको खुलेको हो। प्रहरी महानिरीक्षकको सचिवालयमा परेको उजुरीपछि २०८२ पुस १ गतेदेखि सीआईबीले अनुसन्धान थालेको थियो।
सरकारी वकिल कार्यालयले अदालतमा दायर गरेको मुद्दाअनुसार प्रतिवादीहरूले रेस्क्युको नाममा २ अर्ब ८५ करोड ६२ लाखभन्दा बढी बिमा रकम दाबी गरेका थिए। यसरी नक्कली उद्धारको विवरण बनाएर अत्यधिक बिल पेश गर्ने, एउटै उडानलाई छुट्टाछुट्टै देखाउने र ४ हजार डलर पर्ने उडानलाई १२ हजार डलरसम्म देखाएर बिमा कम्पनीसँग रकम लिने गरिएको पाइएको छ।
अनुसन्धानले अस्पतालहरू पनि यस योजनामा संलग्न रहेको देखाएको छ। पर्यटकको स्वास्थ्य अवस्था गम्भीर भएको झुटो रिपोर्ट बनाउने, अनावश्यक परीक्षण गर्ने र आईसीयूमा राखिएको विवरण तयार पारेर बिमा रकम बढाउने काम भएको सीआईबीको निष्कर्ष छ। ट्रेकिङ कम्पनी, हेलिकप्टर कम्पनी र अस्पतालबीच कमिसन बाँडफाँड हुने गरेको समेत खुलेको छ।
स्वाकन इन्टरनेसनल हस्पिटलमा सन् २०२२ देखि २०२५ नोभेम्बरसम्म ४ हजार ७८२ विदेशी पर्यटकको उपचार देखाई एक अर्बभन्दा बढी रकम प्राप्त भएको विवरण फेला परेको छ। अभिलेख किर्ते गरेर फर्जी उद्धारका बिरामी ल्याइएको समेत अनुसन्धानमा उल्लेख छ। त्यसैगरी श्रीद्धि इन्टरनेसनल हस्पिटलले पनि फेक रेस्क्युका आधारमा दर्जनौँ बिरामीको बिल बनाएर करोडौँ रकम प्राप्त गरेको देखिएको छ।
प्रतिवादी गीर्वाणराज तिमिल्सिनाले बयानका क्रममा बिमा भुक्तानीको २० देखि २५ प्रतिशत ट्रेकिङ कम्पनी र हेलिकप्टर कम्पनीलाई कमिसन दिने गरिएको स्वीकार गरेका छन्। आफ्नो कम्पनीबाट विभिन्न हेलिकप्टर र ट्रेकिङ कम्पनीलाई लाखौँ रुपैयाँ कमिसन दिएको बयान उनले दिएका छन्।
सीआईबीले आर्थिक कारोबार, अस्पतालका अभिलेख, उडान विवरण र बयानलगायत प्रमाण अदालतमा पेश गरेको छ। बाँकी फरार प्रतिवादीहरूलाई पक्राउ गर्न अदालतसँग अनुमति मागिएको छ।
अनुसन्धान प्रतिवेदनले यस्तो गतिविधिले नेपालको पर्यटन क्षेत्रमा गम्भीर असर पार्ने चेतावनी दिएको छ। बिमा कम्पनीहरूले नेपाललाई जोखिमपूर्ण गन्तव्यको रूपमा सूचीकृत गर्ने, बिमा प्रिमियम महँगो हुने र बिमा सेवा नै बन्द हुन सक्ने जोखिम देखिएको छ। यसले विदेशी पर्यटकको विश्वास घट्ने र नेपालको पर्यटन उद्योग प्रभावित हुने निष्कर्ष प्रतिवेदनमा उल्लेख गरिएको छ।
