सम्भावनाले भरिएको सुदूरपश्चिममा पर्यटन गतिविधि सुस्त
कैलाली । प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाले सम्पन्न सुदूरपश्चिम प्रदेशमा पर्यटनको ठूलो सम्भावना हुँदाहुँदै पनि अपेक्षित रूपमा पर्यटकीय गतिविधि विस्तार हुन सकेको छैन। आवश्यक पूर्वाधार, प्रभावकारी प्रचारप्रसार र स्पष्ट नीतिगत योजना अभावका कारण यहाँ पर्यटकको बसाइ र गतिविधि न्यून देखिएको हो।
विशेषज्ञहरूका अनुसार प्रदेशमा भौगोलिक विविधता, मौलिक संस्कृति, ऐतिहासिक धरोहर र धार्मिक गन्तव्य प्रशस्त भए पनि योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा पर्यटन क्षेत्रले गति लिन सकेको छैन। पर्यटन व्यवसायीहरू बाह्य पर्यटकलाई आकर्षित गर्न विशेष कार्यक्रम, सहज कानुनी प्रक्रिया र ब्रान्डिङ आवश्यक रहेको बताउँछन्।
पर्यटन व्यवसायी शिवहरि पाण्डेका अनुसार धेरै गन्तव्यमा न्यूनतम पूर्वाधारसमेत पुगेको छैन। सडक, आवास र कनेक्टिभिटीको समस्या तथा अन्तरराष्ट्रिय स्तरमा प्रचारको अभावले सुदूरपश्चिममा पर्यटक संख्या बढ्न नसकेको उनको भनाइ छ।
प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा पर्यटन पूर्वाधार विकासका लागि करिब ६० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। पर्यटन सर्किट निर्माण, धार्मिक स्थलको विकास, खप्तड, बडिमालिका, रामारोशन, शुक्लाफाँटा, अपी–नाम्पा लगायतका क्षेत्रको प्रवर्द्धन कार्यक्रम अघि बढाइएको मन्त्रालयले जनाएको छ।
सुदूरपश्चिममा खप्तड, बडिमालिका, शुक्लाफाँटा, घोडाघोडी ताल, परशुराम धाम, वैद्यनाथ धाम, अमरगढी किल्ला, अपी–नाम्पा हिमाल, रामारोशनलगायत गन्तव्य अन्तरराष्ट्रिय पर्यटक आकर्षित गर्न सक्ने क्षमता राख्छन्। तर सीमानाकाबाट नेपाल भित्रिने अधिकांश विदेशी पर्यटक काठमाडौँ, पोखरा र हिमाली क्षेत्रतर्फ जाने गरेका कारण सुदूरपश्चिममा बसाइ न्यून देखिएको छ।
सरकारले ‘पर्यटन पूर्वाधारः समृद्ध प्रदेशको आधार’ भन्ने नीति लिएर धार्मिक, सांस्कृतिक र प्राकृतिक गन्तव्यको संरक्षण तथा विकासमा योजनाबद्ध काम अघि बढाइरहेको जनाएको छ। पर्यटन क्षेत्रलाई प्रभावकारी रूपमा प्रवर्द्धन गर्न सके सुदूरपश्चिम प्रदेश मुलुकको महत्वपूर्ण पर्यटकीय केन्द्र बन्न सक्ने सम्भावना रहेको विज्ञहरूको भनाइ छ।
