पुनः सुरु भयो मतदाता नामावली अद्यावधिक अभियान
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीसँगै स्थगित गरिएको मतदाता नामावली अद्यावधिक कार्यक्रम आजदेखि पुनः सञ्चालनमा आएको छ। निर्वाचन आयोगले चैत १८ गतेको निर्णयअनुसार आइतबारदेखि नामावली संकलन तथा अद्यावधिक कार्य पुनः सुरु गरेको हो।
आयोगका अनुसार मङ्सिर ६ गतेदेखि रोकिएको मतदाता नामावली संकलन अब नियमित रूपमा सञ्चालन हुनेछ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले राष्ट्रिय परिचयपत्र प्राप्त गरिसकेका नेपाली नागरिकले अनलाइन प्रणालीमार्फतै आफ्नो विवरण प्रयोग गरेर मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने जानकारी दिएका छन्।
राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध नभएका नागरिकले भने ‘प्रि–इनरोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फारम भरेपछि फोटो र औँठाछापसहितको जैविक विवरण उपलब्ध गराउन सम्बन्धित प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा स्वयं उपस्थित हुनुपर्नेछ।
यससँगै आयोगले मतदाता नामावलीमा देखिएका त्रुटि सच्याउने, दोहोरो नाम हटाउने, मृत्यु वा बसाइँसराइका विवरण अद्यावधिक गर्ने तथा नाम, ठेगाना र मतदानस्थल परिवर्तन गर्ने सुविधा पनि अनलाइनबाटै उपलब्ध गराएको जनाएको छ। नागरिकतामा रहेको विवरणअनुसार नाम र ठेगाना सच्याउने व्यवस्था पनि गरिएको छ।
निर्वाचन आयोगले सबै योग्य नेपाली नागरिकलाई मतदाता नामावली अद्यावधिक प्रक्रियामा सक्रिय सहभागिता जनाउन आग्रह गर्दै निर्वाचनलाई व्यवस्थित, पारदर्शी र समावेशी बनाउन यो अभियान महत्वपूर्ण हुने जनाएको छ।
