मन्त्रालयको निर्देशनपछि विमानस्थल सरसफाइ
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनपछि देशभरिका विमानस्थलहरूले सरसफाइ र यात्रु सेवा सुधारमा तीव्रता दिएका छन्। सोही क्रममा विमानस्थलहरूले आफूले गरेको सुधारका तस्वीर र भिडियो मन्त्रालयलाई पठाउन थालेका छन्, जसलाई मन्त्रालयले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहेको छ।
मन्त्रालयले केही दिनअघि सबै विमानस्थललाई सरसफाइ सुधार्नुका साथै यात्रु–मैत्री आधारभूत सुविधा अनिवार्य रूपमा उपलब्ध गराउन निर्देशन दिएको थियो। त्यसअनुसार विमानस्थलहरूले आफ्नो परिसरलाई व्यवस्थित र सफा बनाउने काम अघि बढाएका हुन्।
हालसम्म त्रिभुवन , भद्रपुर, तुम्लिङटार लगायतका विमानस्थलका सुधारिएका दृश्यहरू सार्वजनिक भइसकेका छन्। अन्य आन्तरिक विमानस्थलहरूबाट पनि यस्तै सामग्री आउने क्रम जारी रहेको मन्त्रालयले जनाएको छ।
निर्देशनअनुसार अब सबै विमानस्थलमा स्तनपान कक्ष अनिवार्य बनाइनेछ। साथै महिला यात्रुको सहजताका लागि स्यानिटरी प्याड निःशुल्क उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ। यी सुविधा लागू भएसँगै विमानस्थलहरूलाई अझ बढी समावेशी र यात्रु–मैत्री बनाउने लक्ष्य लिइएको छ।
यसका साथै विमानस्थलभित्रका शौचालय र अन्य सार्वजनिक क्षेत्रहरूलाई विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार सफा राख्न पनि मन्त्रालयले स्पष्ट निर्देशन दिएको छ। त्यसअनुसार सरसफाइ, फोहोर व्यवस्थापन र स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड कार्यान्वयनमा ध्यान दिइएको देखिन्छ।
मन्त्रालयका अनुसार यो अभियान केवल तस्वीर सार्वजनिक गर्ने मात्र नभई दीर्घकालीन सुधारको सुरुवात हो। यात्रुको अनुभव सुधार, स्वास्थ्य सुरक्षा सुनिश्चितता र अन्तर्राष्ट्रिय स्तरको सेवा प्रवाह गर्ने उद्देश्यले यस्तो पहल गरिएको बताइएको छ।
सरकारको यो कदमसँगै विमानस्थलहरूलाई व्यवस्थित, सफा र आधुनिक बनाउने अभियानले गति लिएको छ। अब यी सुधारहरू कत्तिको दिगो रूपमा कार्यान्वयन हुन्छन् भन्नेमा सरोकारवालाहरूको चासो केन्द्रित भएको छ।
