वैशाख १५ देखि काठमाडौंबाट लुम्बिनीसम्म ‘शान्तिका लागि साइकल यात्रा’ हुने
काठमाडौं । नेपालमा शान्तिको सन्देश फैलाउने उद्देश्यसहित ‘टुर डे लुम्बिनी:पेडल फर पीस २०२६’ आयोजना हुने भएको छ । टुर दी लुम्बिनीका संस्थापक मेघ आलेका अनुसार यही वैशाख १५ देखि १९ गतेसम्म काठमाडौंदेखि लुम्बिनीसम्म साइकल यात्रा हुने भएको हो । यस शान्तिका लागि साइकल यात्रामा नेपाल तथा विदेशका साइकल यात्री, युवा, कर्पोरेट क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सक्रिय सहभागिता रहने जनाइएको छ । शान्ति, सहअस्तित्व र पुनर्निर्माणको सन्देशलाई जनस्तरसम्म पुर्याउने लक्ष्यसहित आयोजना हुँदै आएको यो अभियान सन् २०१२ देखि निरन्तर सञ्चालनमा छ ।
सामाजिक उद्यमी तथा अशोका फेलो मेघ आलेको अवधारणामा सुरु भएको यस अभियानलाई विश्व साइकल यात्री पुष्कर शाहले नेतृत्व गर्दै आएका छन् । गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट विश्वभर शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यसहित अभियानले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा ‘शान्ति केन्द्र’का रूपमा स्थापित गर्ने दीर्घकालीन लक्ष्य लिएको छ ।
नेपाल भारत र चीनजस्ता दुई ठूला अर्थतन्त्रबीच अवस्थित भएकाले विश्व शान्तिमा महत्वपूर्ण भूमिका खेल्न सक्ने सम्भावना रहेको संस्थापक आलेले जानकारी दिए । यस अभियानमार्फत नेपाललाई शान्ति संवादको केन्द्रका रूपमा प्रवर्द्धन गर्ने प्रयास गरिएको जनाइएको छ । यस वर्षको संस्करण विशेषगरी युवाहरूको सक्रिय सहभागितामा केन्द्रित रहनेछ । डिजिटल युगमा युवाको संलग्नतालाई शारीरिक सहनशीलता र सामाजिक उत्तरदायित्वसँग जोड्दै दिगो, पारदर्शी र शान्तिपूर्ण भविष्यका लागि आवाज उठाउने मञ्चका रूपमा यस अभियानलाई विकास गर्ने लक्ष्य राखिएको जनाइएको छ । यात्राका विभिन्न चरणहरूमा स्थानीय समुदायको पनि सहभागिता रहने जनाइएको छ।
पत्रकार सम्मलेनमा बोल्दै संस्थापक आलेले भने, “विश्वव्यापी रूपमा रूस–युक्रेन युद्ध तथा अमेरिका–इरान तनावजस्ता घटनाले बढाएको अस्थिरताको सन्दर्भमा यस किसिमका शान्ति अभियानहरूको महत्त्व अझ बढेको छ ।” अभियानले भविष्यमा शान्ति क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई ‘लुम्बिनी शान्ति पुरस्कार’ प्रदान गर्ने योजना पनि अघि सारिएको छ ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत रोबिन रेग्मीले यस किसिमका कार्यक्रमले नेपाललाई अन्तर्राष्ट्रिय रुपमा ब्रान्डिङ गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । उनले यस कार्यक्रममा अन्तर्राष्ट्रिय सहभागीहरुको संख्या बढाउन सकिएको अवस्थामा यो अभियानले थप बलियो हुने र पर्यटन प्रबर्द्धनमा पनि टेवा पुग्ने उनले बताएका छन् । त्यसैगरी बोर्डका मिडिया कन्सल्टेन्ट दिलिप प्रकाश कार्कीले पछिल्लो समय बढ्दो विश्वव्यापी द्वन्द्व र युद्धरत पक्षहरुलाई नेपालको लुम्बिनीमा बोलाएर शान्ति संवाद गराउन सकिएको अवस्थामा यसको महत्व थप बढ्ने विचार व्यक्त गरेका छन् । ‘टुर डे लुम्बिनी–पेडल फर पीस’ अभियानले साइकल यात्रामार्फत शान्ति, सहअस्तित्व र विश्वव्यापी ऐक्यबद्धताको सन्देश प्रवाह गर्दै आएको छ ।
