फार्म टु टेबल अवधारणामा टिस्टुङ पर्या–पर्यटनको नयाँ गन्तव्य
टुरिजमफेस
मकवानपुर । नेपालको ग्रामीण पर्यटनलाई आधुनिक सुविधासँग जोड्ने उद्देश्यका साथ मकवानपुरको थाहा नगरपालिका–६, टिस्टुङमा सुविधा सम्पन्न टिस्टुङ रिसोर्ट सञ्चालनमा आएको छ । प्राकृतिक सौन्दर्य, कृषि पर्यटन, धार्मिक सम्पदा र स्थानीय संस्कृतिलाई एकीकृत गर्दै टिस्टुङलाई नयाँ पर्यटकीय हबका रूपमा विकास गर्ने लक्ष्यसहित रिसोर्टले सेवा विस्तार गरेको रिसोर्टले जानकारी दिएको छ ।
राजधानी काठमाडौँबाट चन्द्रागिरि मार्ग हुँदै मात्र ३८ किलोमिटरको सहज दूरीमा रहेको यो रिसोर्टले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ । नौबिसे–हेटौँडा सडकमार्फत पनि सहज पहुँच रहेको टिस्टुङ क्षेत्र पछिल्लो समय कोलाहलमुक्त परिवेश, स्वच्छ वातावरण र प्राकृतिक शान्तिका लागि पर्यटकको रोजाइमा पर्दै आएको छ ।
ग्रामीण तथा पर्या–पर्यटनमा जोड
चारैतिर हरियाली पहाड र फराकिला कृषि फाँटले घेरिएको रिसोर्टले इकोटुरिजमको मूल मर्मलाई आत्मसात् गरेको छ । पहाडको काखमा अवस्थित रिसोर्टबाट सूर्योदयको मनमोहक दृश्य अवलोकन, बिहानी शीतलता र प्राकृतिक पदमार्गको आनन्द लिन सकिन्छ ।
रिसोर्टमा पर्यटकका लागि विशाल स्वीमिङ पुल, बालबालिकाका लागि खेलमैदान तथा मनोरञ्जनका अन्य आधुनिक सुविधाहरू उपलब्ध छन् । यहाँ आवासका लागि डिलक्स कोठाहरूका साथै समूहमा आउने पर्यटकका लागि आधुनिक शैलीका कोठाहरू समेत निर्माण गरिएको छ । यस्तै, संस्थागत पर्यटकहरूलाई लक्षित गरी एक सय जना क्षमताको आधुनिक सेमिनार तथा सम्मेलन हल समेत सञ्चालनमा ल्याइएको रिसोर्टले जानकारी दिएको छ ।
’फार्म टु टेबल’ स्थानीय उत्पादनको प्रयोगलाई प्राथमिकता
पर्यटनलाई स्थानीय समुदायसँग जोड्ने अवधारणाअनुसार रिसोर्टले स्थानीय उत्पादनको प्रयोगलाई प्राथमिकता दिएको रिर्सोटका अध्यक्ष हरि गोपाल मर्हजनले जानकारी दिए । । “रिसोर्टको भोजन सेवामा स्थानीय किसानले उत्पादन गरेका ताजा तरकारी, फलफूल तथा कृषि उपजहरू प्रयोग गछौं । यसबाट स्थानीय ग्रामीण अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने विश्वास छ” उनले भने ।
धार्मिक तथा सांस्कृतिक पर्यटन प्याकेज
पर्यटकको बसाइ अवधि लम्ब्याउन र थाहा नगर क्षेत्रको मौलिक संस्कृति चिनाउन रिसोर्टले विशेष कार्यक्रम र भ्रमण प्याकेजहरू अघि सारेको रिर्सोटका प्रबन्ध निर्देशक गोविन्द मर्हजनले जानकारी दिए । ‘टिस्टुङको प्रसिद्ध धार्मिक स्थल बज्रबाराही मन्दिरलाई समेटेर बज्रबाराही–टिस्टुङ–पालुङ पदयात्रा मार्ग विकास गरी धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनलाई एकीकृत रूपमा प्रवद्र्धन गर्ने तयारी भइरहेको छ । यसका साथै स्थानीय कला, संस्कृति, भेषभूषा र भाषाको संरक्षणका लागि विशेष सांस्कृतिक प्रस्तुतिहरू समेत समावेश गरिने योजना छ ।
रिर्सोटमा नवनिर्मित स्वमिङि पुल उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले प्राकृतिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण ग्रामीण क्षेत्रको पर्यटन विकासमा यस्ता पूर्वाधारले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
त्यस्तै, होटल व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष शंकर भण्डारीले पर्यटनलाई सहरकेन्द्रित मात्र नभई गाउँसम्म विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउँदै टिस्टुङ रिसोर्टले त्यस दिशामा सकारात्मक र उदाहरणीय कार्य गरेको उल्लेख गरे । पारिवारिक भ्रमण, साथीभाइहरूसँगको पिकनिक, रात्रिबासका साथै विभिन्न संघसंस्थाका गोष्ठी, तालिम तथा सेमिनार आयोजनाका लागि टिस्टुङ रिसोर्ट एक उपयुक्त र बहुउपयोगी गन्तव्य बन्ने विश्वास लिइएको छ ।
