काठमाडौं । विश्व फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई तत्काल प्रभावबाट निलम्बन गरेको छ। फिफाले एन्फाका महासचिव किरण राईलाई इमेलमार्फत पत्र पठाउँदै यस्तो निर्णयबारे जानकारी गराएको हो।
फिफाका अनुसार एन्फाको आन्तरिक कामकारबाहीमा तेस्रो पक्षको अनुचित हस्तक्षेप भएको, साथै सदस्य संघले पूरा गर्नुपर्ने दायित्वको गम्भीर उल्लंघन भएको निष्कर्षसहित निलम्बनको निर्णय गरिएको हो। फिफा काउन्सिल ब्युरोले जुन २४, २०२६ मा गरेको निर्णयअनुसार एन्फामाथि यो कारबाही लागू गरिएको जनाइएको छ।
फिफाले निलम्बन फुकुवाका लागि केही स्पष्ट सर्त पनि अघि सारेको छ। त्यसअनुसार राष्ट्रिय खेलकुद परिषद्ले २०२६ मार्च २५ मा एन्फासम्बन्धी गरेको निर्णय बिना सर्त पूर्ण रूपमा फिर्ता लिनुपर्नेछ। साथै हालको एन्फा कार्यसमितिलाई पुनर्बहाली गर्नुपर्ने र एन्फाको विधान तथा नियमावलीअनुसार सुरु भइसकेको निर्वाचन प्रक्रिया अविलम्ब अघि बढाउन दिनुपर्ने शर्त राखिएको छ।
यसअघि राष्ट्रिय खेलकुद परिषद्ले गत चैत १२ गते एन्फालाई तीन महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो। सोही विषयलाई लिएर फिफाले कडा चासो व्यक्त गर्दै अन्ततः एन्फामाथि निलम्बनको कदम चालेको हो।
फिफाको यो निर्णयसँगै अर्को सूचना नआएसम्म एन्फाले फिफा सदस्यका रूपमा पाउने सबै अधिकार गुमाउनेछ। साथै एन्फा प्रतिनिधि टोली र नेपाली क्लब टोलीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पनि पाउने छैनन्।