गोविन्दबहादुर कार्की बने मुख्यसचिव
काठमाडौं । सरकारले गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्यसचिव नियुक्त गरेको छ। मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कार्कीलाई मुलुकको प्रशासनिक नेतृत्वको जिम्मेवारी दिने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा शिक्षा एवं खेलकुद मन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै कार्कीको नियुक्तिसँगै विभिन्न नीतिगत तथा प्रशासनिक निर्णयहरू पनि स्वीकृत भएको जानकारी दिए।
बैठकले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा काठमाडौं निवासी सुरज शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ।
स्वास्थ्य क्षेत्रतर्फ कैलालीस्थित गेटा अस्पताललाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरिएको छ।
त्यस्तै, सरकारले विदेशी शैक्षिक कार्यक्रम सञ्चालन तथा नियमन नियमावली, २०८३ पारित गरेको छ। साथै शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन एवं व्यवस्थापन नियमावली, २०८३ लाई पनि स्वीकृति दिएको छ।
बैठकले कारागार नियमावली, २०८३, मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना तथा भ्रष्टाचारविरुद्धको दोस्रो रणनीतिक योजना समेत अनुमोदन गरेको सरकारका प्रवक्ताले जानकारी दिए।
