ठमेल–दरबारमार्गमा विशेष अभियान : ४७ विदेशी महिला डिपोर्ट, १० जनामाथि छानबिन जारी
काठमाडौं । पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्गमा अनधिकृत तथा अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका ४७ विदेशी महिलालाई नेपालबाट निष्कासन गरिएको छ। थप १० जनामाथि भने अनुसन्धान प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार विशेष निगरानी अभियानका क्रममा पक्राउ परेका ५७ विदेशी महिलामध्ये ४७ जनालाई अध्यागमन विभागमार्फत आफ्ना देश फर्काइएको हो।
प्रहरीका अनुसार निष्कासित महिलाहरू युगान्डा, भियतनाम, थाइल्यान्ड, बंगलादेश, केन्या र इन्डोनेसिया लगायतका विभिन्न मुलुकका नागरिक हुन्। बाँकी १० जनाको गतिविधिबारे थप तथ्य संकलन तथा अनुसन्धान भइरहेको बताइएको छ।
परिसरका एसपी पवनकुमार भट्टराईले पर्यटकीय गन्तव्यका रूपमा परिचित ठमेल र दरबारमार्ग क्षेत्रमा विदेशी नागरिक संलग्न अनधिकृत गतिविधिबारे लगातार गुनासा आएपछि विशेष अभियान सञ्चालन गरिएको जानकारी दिए।
उनले नेपालमा तुलनात्मक रूपमा कम खर्चमा बस्न सकिने र रात्रिकालीन मनोरञ्जनका अवसरका कारण केही विदेशी नागरिक यस्ता गतिविधितर्फ आकर्षित हुने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताए।
यसैबीच प्रहरीले अनलाइन बेटिङ र त्यससँग जोडिएका वित्तीय अपराधबारे पनि अनुसन्धान तीव्र बनाएको जनाएको छ। बेटिङबाट संकलित रकम हुण्डी तथा क्रिप्टोकरेन्सीमार्फत विदेश पठाउने गिरोह सक्रिय रहेको आशंकामा अनुसन्धान अघि बढाइएको छ।
प्रहरीले बेटिङ प्लेटफर्मको निगरानी, शंकास्पद आर्थिक कारोबारको विश्लेषण तथा संलग्न व्यक्ति र समूहको पहिचानलाई प्राथमिकताका साथ अघि बढाइरहेको जनाएको छ।
त्यस्तै, सार्वजनिक सेवा क्षेत्रमा सक्रिय बिचौलियाविरुद्ध चलाइएको अभियानअन्तर्गत काठमाडौंबाट ३०९ जना पक्राउ परेका छन्। तीमध्ये ६१ जनाविरुद्ध कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
