बाघ बढ्दै, वन्यजन्तु पर्यटनमा नेपाल थप आकर्षक बन्ने संकेत
काठमाडौं । विश्व बाघ दिवसको अवसरमा सरकारले नयाँ राष्ट्रिय बाघ गणनाको नतिजा सार्वजनिक गर्दैछ। संरक्षण प्रयास सफल बन्दै गएसँगै नेपालमा बाघको संख्या थप बढेको अनुमान गरिएको छ, जसले वन्यजन्तु पर्यटन र पर्यापर्यटन क्षेत्रमा नयाँ सम्भावना थप्ने अपेक्षा गरिएको छ।
नेपालका राष्ट्रिय निकुञ्जहरूमा बाघको संख्या निरन्तर वृद्धि हुँदै जाँदा चितवन, बर्दिया, शुक्लाफाँटा, बाँके र पर्सा राष्ट्रिय निकुञ्ज वन्यजन्तु अवलोकनका लागि अन्तर्राष्ट्रिय पर्यटकमाझ अझ आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएका छन्। पर्यटन व्यवसायीहरूका अनुसार दुर्लभ वन्यजन्तु प्रत्यक्ष अवलोकन गर्न सकिने सम्भावनाले नेपाललाई दक्षिण एसियाकै महत्वपूर्ण सफारी गन्तव्य बनाउने आधार बलियो हुँदै गएको छ।
सन् २०२२ को गणनाअनुसार नेपालमा ३५५ वटा बाघ रहेका थिए। त्यसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा धेरै १२८ र बर्दियामा १२५ वटा बाघ थिए। पछिल्ला वर्षमा बासस्थानको सुधार, आहारा प्रजातिको वृद्धि तथा संरक्षण गतिविधिको प्रभावकारिताका कारण यसपटक संख्या अझ बढ्ने अनुमान गरिएको छ।
बाघ संरक्षणमा नेपालले हासिल गरेको सफलता विश्वमै उदाहरणीय मानिन्छ। सन् २०१० मा १२१ वटा मात्र रहेका बाघको संख्या २०२२ सम्म झन्डै तीन गुणाले बढेको थियो। यस उपलब्धिले नेपाललाई संरक्षण र प्रकृतिमा आधारित पर्यटन प्रवर्द्धन गर्ने मुलुकका रूपमा अन्तर्राष्ट्रिय स्तरमा चिनाएको छ।
विशेषज्ञहरूका अनुसार बाघ केवल वन्यजन्तु मात्र होइन, स्वस्थ पारिस्थितिक प्रणालीको प्रतीक पनि हो। बाघको उपस्थिति रहेको वन क्षेत्र पर्यटकका लागि आकर्षणको केन्द्र बन्ने भएकाले स्थानीय होटल, रिसोर्ट, सफारी सेवा, प्रकृति मार्गदर्शक तथा सामुदायिक पर्यटनले प्रत्यक्ष लाभ लिन सक्छन्।
नेपालका तराई क्षेत्रका पाँच राष्ट्रिय निकुञ्जमा केन्द्रित बाघ पर्यटनले हजारौं स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्दै आएको छ। विशेषगरी चितवन र बर्दियामा ‘टाइगर सफारी’ प्रमुख पर्यटकीय गतिविधिका रूपमा विकास भइरहेको छ। वन्यजन्तु अवलोकनका लागि आउने पर्यटकको बसाइ अवधि र खर्चसमेत अन्य पर्यटकको तुलनामा बढी हुने पर्यटन क्षेत्रको अनुभव छ।
यद्यपि बाघको संख्या बढेसँगै मानव–वन्यजन्तु द्वन्द्व, बासस्थान व्यवस्थापन र संरक्षणका चुनौती पनि बढेका छन्। संरक्षणविद्हरूका अनुसार पर्यटन विस्तारसँगै स्थानीय समुदायको सुरक्षा, वन्यजन्तु आवतजावतका जैविक मार्गको संरक्षण तथा पूर्वाधार विकासबीच सन्तुलन कायम गर्नुपर्ने आवश्यकता अझ बढेको छ।
सरकारले चितवनको देवनगर क्षेत्रमा ‘टाइगर सेन्चुरी’ निर्माणको योजना अघि बढाएको छ। समस्याग्रस्त तथा घाइते बाघको व्यवस्थापनका लागि प्रस्ताव गरिएको यो परियोजना कार्यान्वयनमा आएमा संरक्षणसँगै नयाँ पर्यटकीय आकर्षणसमेत बन्न सक्ने अपेक्षा गरिएको छ।
पर्यटन क्षेत्रका सरोकारवालाहरूका अनुसार नेपालले बाघ संरक्षणको सफलतालाई अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी रूपमा प्रवर्द्धन गर्न सके वन्यजन्तु पर्यटनबाट थप विदेशी मुद्रा आर्जन र स्थानीय रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुग्नेछ।
