युवाहरूको नयाँ राजनीतिक अभियान ‘हुंकार मधेस’, संघीय हिन्दु गणराज्यदेखि आर्थिक समृद्धिसम्मका प्रस्ताव
काठमाडौं । एक सयभन्दा बढी युवाको सहभागितामा ‘हुंकार मधेस’ नामक नयाँ राजनीतिक अभियान घोषणा गरिएको छ। अभियानले अवधारणा पत्र सार्वजनिक गर्दै मधेससँगै समग्र नेपालको राजनीतिक, सामाजिक तथा आर्थिक रूपान्तरणका लागि विभिन्न प्रस्ताव अघि सारेको छ।
अभियानले मौलिकतावादी वैचारिकी र सामुदायिक समाजवादमा आधारित अर्थनीतिलाई आफ्नो मुख्य आधार बनाउने जनाएको छ। शासन सञ्चालनका लागि ‘पाँच स’ अर्थात् सनातन, संघीयता, सामाजिक न्याय, सुशासन र समृद्धिको अवधारणा अघि सारिएको छ।
हुंकार मधेसले जातीय विभेद र छुवाछूत अन्त्य गर्ने उद्देश्यले नामबाट थर हटाउने अभियान सञ्चालन गर्ने प्रस्ताव पनि गरेको छ। राजनीतिक तथा लाभका पदमा एउटै व्यक्तिले दुई कार्यकालभन्दा बढी अवसर पाउन नहुने व्यवस्था लागू गर्नुपर्ने उसको धारणा छ।
हाल अभियानमा ११८ जना अभियन्ता आबद्ध रहेको जनाइएको छ। यद्यपि, अभियानको नेतृत्व औपचारिक रूपमा चयन भइसकेको छैन। केही दिनभित्र संयोजकको टुंगो लाग्ने अभियानका अभियन्ता केशव झाले बताएका छन्।
अभियानले कार्यकारी तहको अध्यक्ष वा संयोजक बन्न ४९ वर्षको उमेर सीमा तथा संगठनका समितिमा सदस्य बन्न ६५ वर्षको उमेर हद प्रस्ताव गरेको छ। त्यस्तै, संगठनमा ४० वर्षमुनिका व्यक्तिको ४० प्रतिशत, ६० वर्षमुनिका व्यक्तिको ४० प्रतिशत र ६० वर्षभन्दा माथिका व्यक्तिको २० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्ने अवधारणा अघि सारिएको छ।
अध्यक्षीय प्रणालीको सट्टा लोकतान्त्रिक र सामूहिक नेतृत्व प्रणाली अपनाउने, राजनीति र उद्यमशीलतालाई सँगसँगै अघि बढाउने तथा नेतृत्वका लागि निश्चित शैक्षिक योग्यता तोक्ने प्रस्ताव पनि अभियानले गरेको छ।
पूर्वीय दर्शन, सनातन संस्कृति र ज्ञान प्रणालीको संरक्षण, संविधानमा सुनिश्चित अधिकारको कार्यान्वयन, संघीय संरचनालाई थप अधिकारसम्पन्न बनाउने तथा लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने विषयलाई पनि अभियानको एजेन्डामा समेटिएको छ। भ्रष्टाचाररहित समाज निर्माणलाई समेत प्राथमिकतामा राखिएको छ।
हुंकार मधेसले ‘संघीय लोकतान्त्रिक हिन्दु गणराज्य’ घोषणा गर्ने प्रस्ताव अघि सारेको छ। त्यस्तै, समग्र थरुहट–मधेस क्षेत्रलाई एउटै स्वायत्त प्रदेश बनाउने, चुरे संरक्षणका लागि छुट्टै प्राधिकरण गठन गर्ने र किसानलाई प्रत्यक्ष सुविधा तथा अनुदान उपलब्ध गराउने प्रस्ताव पनि सार्वजनिक गरिएको छ।
आर्थिक क्षेत्रमा भने आगामी १० वर्षभित्र नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ४२ अर्ब अमेरिकी डलरबाट बढाएर ५०० अर्ब डलर पुर्याउने तथा प्रतिव्यक्ति आय १५ गुणाले वृद्धि गर्ने लक्ष्य अभियानले सार्वजनिक गरेको छ।
