२४ घण्टामा देशका विभिन्न क्षेत्रमा मुसलधारे वर्षा, पाल्पामा २४३ मिलिमिटरभन्दा बढी
काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पाल्पामा सबैभन्दा धेरै वर्षा मापन भएको छ।
महाशाखाले शुक्रबार अपराह्न साढे ३ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार पाल्पाको अर्चले मापन केन्द्रमा २४ घण्टामा २४३.४ मिलिमिटर वर्षा भएको छ। पाल्पाकै गण्डकोटमा १५२.२ मिलिमिटर पानी परेको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा १०० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको महाशाखाले जनाएको छ।
इलामको कन्याममा १०६.४, सोलुखुम्बुको सल्लेरीमा १०४.२ तथा पेकरनासमा ११८.४ मिलिमिटर वर्षा भएको छ। काभ्रेको पनौतीमा १३४.८ र रोशीमा ११२.६ मिलिमिटर पानी परेको छ। सिन्धुपाल्चोकको बाहुनेपाटीमा १०५.२ मिलिमिटर वर्षा मापन भएको छ।
चितवनको माढीमा ११३.२ र चर्छरेमा ११०.४ मिलिमिटर वर्षा भएको छ। तनहुँको बन्दीपुरमा १०१.२, दमौलीमा १०५.८ र श्यामघामा १०२.२ मिलिमिटर वर्षा मापन भएको छ।
पर्वतको पचासेमा १२२ र कार्कीनेटामा १०३.८ मिलिमिटर, स्याङ्जाको पञ्चमूलमा ११०.२ तथा चापाकोटमा १२५ मिलिमिटर वर्षा भएको छ। नवलपुरमा १०९.६ र देउराली नवलपुरमा १११.४ मिलिमिटर वर्षा मापन गरिएको छ।
अर्घाखाँचीमा १५७, सिमलपानीमा १३३.२ र सन्धिखर्कमा ११३.६ मिलिमिटर पानी परेको छ। गुल्मीको भर्सेमा १०९.६ तथा बागलुङको ताराखोलामा १००.८ मिलिमिटर वर्षा भएको छ।
लुम्बिनी प्रदेशकै बाँकेमा पनि वर्षा तीव्र देखिएको छ। बैजापुरमा ११२, ढकेरीमा १२६.६, कोहलपुरमा ११७.६, नौवस्तामा १०६.२ र खजुरामा १०१.४ मिलिमिटर वर्षा भएको छ। बेलभारमा १११.२, नेपालगन्जमा १११.६ र भगवानपुरमा १०७.६ मिलिमिटर वर्षा मापन गरिएको छ।
कोशीदेखि लुम्बिनी प्रदेशसम्मका अन्य भूभागमा मध्यमदेखि भारी वर्षा भएको छ भने कर्णाली र सुदूरपश्चिमका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ।
मौसमसम्बन्धी मापदण्डअनुसार १० मिलिमिटरसम्मको वर्षालाई हल्का, १० देखि ५० मिलिमिटरसम्मलाई मध्यम, ५० देखि १०० मिलिमिटरसम्मलाई भारी, १०० देखि २०० मिलिमिटरसम्मलाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढी वर्षालाई अति भारी वर्षा मानिन्छ।
महाशाखाका अनुसार शुक्रबार र शनिबार पश्चिमी भूभागमा अझै ठूलो वर्षा हुने सम्भावना छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा शुक्रबार साँझदेखि शनिबारसम्म वर्षा थप बढ्न सक्ने पूर्वानुमान गरिएको छ।
सोमबारदेखि वर्षाको गतिविधि क्रमशः घट्दै जाने र असोज १३ गतेदेखि मौसम सफा हुँदै जाने महाशाखाको पूर्वानुमान छ।
