तीन वर्षअघि नेपालमा दिएको हिमनदी पग्लिने चेतावनी सम्झिए गुटेरसले, ‘असर अनुमानभन्दा छिटो देखियो’
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले हिमनदी तीव्र गतिमा पग्लिरहेको विषयमा तीन वर्षअघि नेपालबाट दिएको चेतावनीलाई कतिपयले अतिरञ्जित भन्दै बेवास्ता गरेको स्मरण गरेका छन्। उनका अनुसार अहिले जलवायु परिवर्तनका असरहरू अपेक्षा गरिएभन्दा छिटो र गम्भीर रूपमा देखिन थालेका छन्।
संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै गुटेरसले नेपाल भ्रमणका क्रममा हिमाली क्षेत्रमा देखेको अवस्थाबारे विश्वलाई सचेत गराएको बताए।
‘तीन वर्षअघि नेपालको हिमाली क्षेत्रमा हिमनदी तीव्र गतिमा पग्लिरहेको विषयमा चेतावनी दिएको थिएँ। केहीले त्यसलाई खतराको बढाइचढाइ भन्दै बेवास्ता गरे,’ उनले भने, ‘तर हालैका दुःखद घटनाहरूले प्रभावहरू धेरैले अनुमान गरेभन्दा चाँडो आइरहेका छन्, अझ गम्भीर हुँदै गएका छन् र अझ व्यापक रूपमा फैलिरहेका छन्।’
गुटेरसले विश्व अहिले औद्योगिक युगअघिको तुलनामा औसत तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभित्र सीमित राख्ने लक्ष्य पूरा गर्न कठिन अवस्थातर्फ अघि बढिरहेको बताए।
जलवायु संकट गहिरिँदै गए पनि स्वच्छ ऊर्जाको विस्तारले आशाको आधार भने कायम राखेको उनको भनाइ थियो।
महासचिव गुटेरसले जलवायु परिवर्तनबाट हुने क्षतिको ठूलो जिम्मेवारी बढी प्रदूषण गर्ने र त्यसबाट बढी आर्थिक लाभ लिने पक्षहरूले लिनुपर्नेमा जोड दिए।
‘सबैभन्दा बढी प्रदूषण गर्ने र त्यसबाट सबैभन्दा बढी नाफा कमाउनेहरूले आफूले पुर्याएको क्षतिको क्षतिपूर्ति गर्न अझ धेरै काम गर्नुपर्छ। प्रदूषण गर्नेहरूले त्यसको मूल्य चुकाउनुपर्छ,’ उनले भने।
जलवायु संकटविरुद्ध अभियान चलाइरहेका नेता, सहर, नागरिक समाज तथा सर्वसाधारणलाई सम्बोधन गर्दै उनले उनीहरूको प्रयासलाई निरन्तरता दिन आग्रह गरे।
गुटेरसले विकसित मुलुकहरूले जलवायु सम्बन्धी आफ्ना प्रतिबद्धता पूरा गर्नुपर्नेमा पनि जोड दिए। उनले जलवायु परिवर्तनसँग अनुकूलनका लागि उपलब्ध वित्तीय सहयोग तीन गुणासम्म बढाउन तथा हानि–नोक्सानीसम्बन्धी कोषलाई पर्याप्त स्रोतसहित प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने बताए। एजेन्सीको सहयोगमा
