रसुवागढी–स्याफ्रुबेसी सडकको ट्र्याक खोल्न चीनको सहयोग खोज्दै नेपाल
काठमाडौं । नेपाल सरकारले रसुवागढीदेखि स्याफ्रुबेसीसम्मको सडकको ट्र्याक खोल्ने तथा क्षतिग्रस्त सडक संरचना पुनर्निर्माणमा चीनसँग सहयोग मागेको छ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले शुक्रबार सिंहदरबारमा नेपालका लागि चिनियाँ राजदूत वाङ माओमिङसँग भेट गर्दै बाढीका कारण अवरुद्ध रसुवागढी नाका तत्काल सञ्चालनमा ल्याउन चीनको सहयोग आवश्यक रहेको बताएका हुन्।
भदौ १० गते आएको भोटेकोशी बाढीले रसुवागढी नाका तथा नाकासम्म पुग्ने सडकमा ठूलो क्षति पुर्याएको थियो। त्यसपछि नाका हुँदै हुने आवतजावत प्रभावित भएको छ।
मन्त्री लम्सालले स्याफ्रुबेसी–रसुवागढी सडकखण्डको पुनर्निर्माणसँगै नेपालका अन्य उत्तरी नाका र सीमावर्ती क्षेत्रमा क्षतिग्रस्त पूर्वाधार पुनःनिर्माणमा समेत चीनको सहयोग आवश्यक रहेको बताएका थिए।
तत्कालका लागि पुरानै सडकको स्थानबाट अस्थायी मार्ग निर्माण गरी यातायात सञ्चालन गर्ने तयारी भइरहेको उनले जानकारी दिए।
दीर्घकालीन रूपमा काठमाडौं–रसुवागढी–केरुङ सडकको स्तरोन्नति तथा विकासका लागि नयाँ विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने र आवश्यक ठाउँमा नयाँ ट्र्याक खोल्ने प्रक्रिया अघि बढाइएको पनि मन्त्री लम्सालले बताए। यस कार्यमा चीनसँग समन्वय र सहयोगका लागि उनले आग्रह गरेका छन्।
भेटवार्ताका क्रममा रसुवामा बाढीबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण, स्थानीय बासिन्दाको आवतजावत सहज बनाउने तथा कोरला र तातोपानी नाकालाई प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ।
चिनियाँ राजदूत वाङले नेपाललाई आवश्यक सहयोग गर्न चीन तयार रहेको बताएका छन्। उनले रसुवागढी नाकाको पुनर्निर्माण तथा दीर्घकालीन सञ्चालनका लागि प्रभावकारी र दिगो पूर्वाधार निर्माणमा विशेष अध्ययन आवश्यक रहेको धारणा राखे।
कोरला र तातोपानी नाका सञ्चालनका विषयमा चीन सकारात्मक रहेको उल्लेख गर्दै राजदूत वाङले रसुवागढी नाकाको पुनर्निर्माण र सञ्चालनसम्बन्धी नेपालले विशेष प्रस्ताव पेस गरे आवश्यक समन्वय तथा सहयोगका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
