दुई वर्षपछि भेरी अस्पतालमा सिटी स्क्यान सेवा पुनः सुरु, बिरामीलाई राहत
नेपालगञ्ज। नेपालगञ्जस्थित भेरी अस्पतालमा करिब दुई वर्षदेखि बन्द रहेको सिटी स्क्यान सेवा पुनः सञ्चालनमा आएको छ। उपकरण मर्मत सम्पन्न भएपछि सेवा नियमित रूपमा सुरु गरिएको अस्पतालले जनाएको छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालका अनुसार अब विशेषज्ञ चिकित्सकको सिफारिसअनुसार बिरामीले अस्पतालमै सिटी स्क्यान गराउन सक्नेछन्। उनका अनुसार बिग्रिएको मेसिनको ट्युब प्रतिस्थापन गर्न समय लागेकाले सेवा लामो समय अवरुद्ध भएको थियो।
मेसिन मर्मत तथा परीक्षणका लागि झण्डै एक महिना लागेको जानकारी दिँदै डा. दर्नालले सेवा पुनः सञ्चालनसँगै बिरामीलाई बाहिरी अस्पताल वा भारतसम्म धाउनुपर्ने अवस्था अन्त्य हुने विश्वास व्यक्त गरे। समयमै रोग पहिचान गर्न, उपचार प्रक्रिया छिटो अघि बढाउन र बिरामीको आर्थिक खर्च घटाउन पनि यसले सहयोग पुग्ने उनको भनाइ छ।
सेवा सुरु भएको पहिलो दिनमै पाँच जनाले सिटी स्क्यान गराएका अस्पतालले जनाएको छ। अस्पतालले पछिल्ला समय सेवा विस्तार, आधुनिक स्वास्थ्य उपकरण सञ्चालन, विशेषज्ञ सेवा सुदृढीकरण तथा बिरामीमैत्री वातावरण निर्माणमा जोड दिँदै आएको पनि जनाएको छ।
प्रसूति सेवामा पनि उल्लेख्य वृद्धि
भेरी अस्पतालमा सुरक्षित मातृत्व कार्यक्रमअन्तर्गत निःशुल्क प्रसूति तथा शल्यक्रिया सेवा उपलब्ध भएपछि सेवाग्राहीको संख्या निरन्तर बढिरहेको छ।
अस्पतालका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कुल ६ हजार ५९७ महिलाले प्रसूति सेवा लिएका छन्। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यो संख्या ५ हजार ६०८ थियो।
गत आर्थिक वर्षमा ४ हजार १४५ जनाले सामान्य प्रसूति, २०५ जनाले भ्याकुम वा फोर्सेपमार्फत तथा २ हजार २४७ जनाले शल्यक्रियामार्फत सुत्केरी सेवा लिएको अस्पतालले जनाएको छ।
अस्पतालले जनशक्ति क्षमता अभिवृद्धि, उपकरण व्यवस्थापन र सेवाको गुणस्तर सुधारलाई निरन्तर प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै आगामी दिनमा थप विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्ने तयारी पनि भइरहेको जनाएको छ।
