भन्सारका २७२ कर्मचारीको सरुवा रोकियो, पारदर्शी प्रक्रियाबाट फेरि सरुवा गरिने
काठमाडौं — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको निर्देशनपछि भन्सार विभागअन्तर्गत सरुवा गरिएका ६९ जना अधिकृत र २०३ जना नायब सुब्बासहित २७२ कर्मचारीको सरुवा रद्द गरिएको छ।
भन्सार विभागले गत कात्तिक २० गते विभाग मातहतका विभिन्न कार्यालयमा कर्मचारी व्यवस्थापन गर्ने क्रममा ती कर्मचारीको सरुवा गरेको थियो। तर, सरुवा प्रक्रिया पारदर्शी र न्यायोचित नभएको भन्दै उजुरी तथा गुनासो आएपछि अर्थमन्त्रीले उक्त निर्णय पुनरावलोकन गर्न निर्देशन दिएका हुन्।
अर्थमन्त्री वाग्लेले सरुवा प्रक्रियामाथि गम्भीर प्रश्न उठेको भन्दै तत्काल निर्णय रद्द गरी प्रविधिमा आधारित र स्पष्ट मापदण्डसहितको प्रणालीमार्फत नयाँ सरुवा प्रक्रिया अघि बढाउन मन्त्रालय तथा विभागका अधिकारीलाई निर्देशन दिएका थिए।
निर्देशनलगत्तै निमित्त अर्थसचिव डा. सुमन दाहालले सोमबार भन्सार विभागलाई सरुवा निर्णय रद्द गर्न पत्र पठाएका थिए। त्यसपछि विभागले यसअघि गरेको सरुवा औपचारिक रूपमा रद्द गरेको हो।
अब कर्मचारी सरुवाका लागि नयाँ व्यवस्था तयार गरिने भएको छ। मन्त्रालयले विकास गर्ने प्रविधिमैत्री प्रणाली र निर्धारित मापदण्डका आधारमा भन्सार विभागले कर्मचारीको पुनः सरुवा गर्ने तयारी गरेको जनाएको छ।
यसैबीच, यसअघि गरिएको सरुवा प्रक्रियामा पारदर्शिता नदेखिएको विषयमा आन्तरिक छानबिनसमेत अघि बढाइएको छ। अर्थमन्त्री वाग्लेले मन्त्रालयका उच्च अधिकारीलाई सरुवा निर्णयको प्रक्रियाबारे छानबिन गर्न निर्देशन दिएका छन्।
नयाँ प्रणालीमार्फत कर्मचारीको सरुवा गर्दा पहुँच वा व्यक्तिगत प्रभावभन्दा आवश्यकता, मापदण्ड र संस्थागत हितलाई आधार बनाउने तयारी मन्त्रालयको छ।
