नेपालगञ्ज–दिल्ली सिधा उडानको माग, सीमावर्ती सहरलाई पर्यटन हब बनाउने अपेक्षा
बाँके — प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणलाई लक्षित गर्दै नेपालगञ्जबाट दिल्लीसम्म सिधा हवाई सेवा सञ्चालनको पहल गर्न माग गरिएको छ। स्थानीय व्यवसायी, राजनीतिक दल तथा नागरिक समाजका प्रतिनिधिले सिधा उडान सुरु भएमा नेपालगञ्जसहित पश्चिम नेपालमा पर्यटन, व्यापार तथा अन्य सेवा क्षेत्र विस्तार हुने बताएका छन्।
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको नेतृत्वमा बाँकेका विभिन्न राजनीतिक दल र नागरिक समाजका प्रतिनिधिले प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलाई ज्ञापनपत्र बुझाउँदै प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालगञ्ज–दिल्ली हवाई सम्पर्कको विषयलाई प्राथमिकताका साथ उठाउन आग्रह गरेका हुन्।
स्थानीय व्यवसायीका अनुसार नेपालगञ्ज–दिल्ली सिधा उडान सञ्चालन हुन सके पश्चिम नेपालमा भारतीय पर्यटकको आवागमन बढाउन सहज हुनेछ। विशेषगरी बाँके, बर्दिया, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पर्यटकीय गन्तव्यलाई भारतीय बजारसँग जोड्न नेपालगञ्जको हवाई सम्पर्क महत्वपूर्ण बन्न सक्ने उनीहरूको धारणा छ।
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष चीरञ्जिवी ओलीले सिधा हवाई सेवा सुरु भएमा पर्यटनसँगै शिक्षा, स्वास्थ्य र व्यापार क्षेत्रमा समेत सकारात्मक प्रभाव पर्ने बताए। उनका अनुसार अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार गर्न सके नेपालगञ्जलाई पश्चिम नेपालको पर्यटन प्रवेशद्वारका रूपमा विकास गर्न सकिने सम्भावना छ।
भारतका विभिन्न सहरबाट नेपालगञ्जसम्म सहज हवाई पहुँच स्थापित भएमा भारतीय पर्यटकलाई बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, लुम्बिनी तथा पश्चिम नेपालका अन्य प्राकृतिक र धार्मिक गन्तव्यसम्म पुग्न सहज हुनेछ। यसले होटल, यातायात, ट्राभल तथा टुर व्यवसाय र स्थानीय उत्पादनको बजार विस्तारमा समेत सहयोग पुग्न सक्ने देखिन्छ।
ज्ञापनपत्रमा नेपालगञ्जमा सुक्खा बन्दरगाह स्थापनाका लागि पनि पहल गर्न माग गरिएको छ। नेपालगञ्जमा निर्माण भएको एकीकृत जाँच चौकीलाई थप स्तरोन्नति गरी सुक्खा बन्दरगाहका रूपमा विकास गर्न सके सीमापार व्यापार र आपूर्ति प्रणालीलाई थप व्यवस्थित बनाउन सकिने व्यवसायीहरूको भनाइ छ।
नेपाल–भारत सीमावर्ती प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको नेपालगञ्जले अन्तर्राष्ट्रिय हवाई सम्पर्क, रेल सेवा तथा व्यापारिक पूर्वाधार विस्तारको अपेक्षा गरिरहेको छ। पूर्वाधार विस्तारसँगै पर्यटनलाई प्राथमिकतामा राख्न सके सीमावर्ती सहरको आर्थिक गतिविधि थप विस्तार गर्न सकिने स्थानीय सरोकारवालाको विश्वास छ।
प्रमुख जिल्ला अधिकारी तामाङले आफू बाँके आएदेखि नै विभिन्न पक्षसँग निरन्तर संवाद गर्दै आएको बताएका छन्।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टसहित राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा, श्रम संस्कृति पार्टी तथा नागरिक समाजका प्रतिनिधिको सहभागिता थियो।
नेपालगञ्ज–दिल्ली सिधा हवाई सम्पर्क स्थापित भएमा भारतबाट पश्चिम नेपालमा आउने पर्यटकका लागि नयाँ प्रवेशद्वार खुल्नुका साथै नेपालगञ्जलाई व्यापार र पर्यटन दुवै दृष्टिले क्षेत्रीय हबका रूपमा विकास गर्ने आधार बलियो बन्न सक्ने देखिन्छ।
