काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले ठूलो मूल्यका घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी तथा संस्थाले अनिवार्य रूपमा इजाजतपत्र (लाइसेन्स) लिनुपर्ने व्यवस्था कार्यान्वयनमा रहेको भन्दै सम्बन्धित पक्षलाई २१ दिनभित्र अनलाइन आवेदन दिन आग्रह गरेको छ।
विभागले सार्वजनिक गरेको सूचनाअनुसार महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा एक पटकमा तीन करोड रुपैयाँभन्दा बढी मूल्यको घरजग्गा किनबेच वा कारोबार गर्ने फर्म, कम्पनी तथा संस्थाले विभागबाट इजाजतपत्र प्राप्त गरेपछि मात्र कारोबार गर्न पाउनेछन्। आवेदन विभागको अनलाइन प्रणालीमार्फत गर्नुपर्ने व्यवस्था गरिएको छ।
इजाजतपत्रका लागि कारोबारको आकारअनुसार दस्तुर निर्धारण गरिएको छ। पाँच करोड रुपैयाँसम्मको कारोबार गर्ने संस्थाले पाँच लाख रुपैयाँ दस्तुर तिर्नुपर्नेछ भने पाँच करोड रुपैयाँभन्दा माथिको कारोबार गर्नेले १० लाख रुपैयाँ दस्तुर बुझाउनुपर्नेछ।
विभागले यसअघि आवेदन दिएका तर २०८३ असार मसान्तसम्म इजाजतपत्र नलिएका फर्म, कम्पनी तथा संस्थालाई पनि नयाँ सूचनाअनुसार पुनः अनलाइन आवेदन दिनुपर्ने स्पष्ट पारेको छ।
अनलाइन आवेदनपछि आवश्यक कागजातको एक–एक प्रति छापेर विभागमा बुझाउनुपर्नेछ। साथै, सम्बन्धित कम्पनी वा संस्थाका सञ्चालक सदस्यले नेपाल प्रहरीको केन्द्रीय अपराध सूचना अभिलेखालयबाट आपराधिक गतिविधिमा संलग्न नरहेको प्रमाणपत्र पनि पेस गर्नुपर्ने व्यवस्था गरिएको विभागले जनाएको छ।
इजाजतपत्र प्रक्रिया वा अन्य जानकारी आवश्यक परे विभागसँग प्रत्यक्ष सम्पर्क गर्न विभागले सम्बन्धित सरोकारवालालाई आग्रह गरेको छ।