काठमाडौं । केही समयदेखि नियमित जिम्मेवारीबाट बाहिर रहेका सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याल पुनः कार्यभार सम्हाल्न फर्किएका छन्।।
कम्पनीको सञ्चालक समितिले गरेको निर्णयअनुसार अर्याललाई पुनः प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो। सो निर्णयसँगै उनी बिहीबारदेखि औपचारिक रूपमा कार्यालयमा फर्किएर नियमित कार्यसम्पादनमा जुटेका छन्।
अर्याल यसअघि कम्पनीभित्र उत्पन्न प्रशासनिक तथा व्यवस्थापकीय विवादका कारण केही समय कार्यकारी भूमिकाबाट अलग भएका थिए। उक्त अवधिमा कम्पनीको नेतृत्व र व्यवस्थापनबारे विभिन्न छलफल तथा कानुनी प्रक्रिया अघि बढेको थियो।
सञ्चालक समितिले पछिल्लो निर्णयमार्फत नेतृत्वमा निरन्तरता दिने निष्कर्ष निकालेपछि अर्यालले पुनः कम्पनीको दैनिक प्रशासन, रणनीतिक योजना तथा व्यवसायिक गतिविधिको नेतृत्व सम्हाल्न थालेका हुन्।
सन नेपाल लाइफले पछिल्ला वर्षहरूमा जीवन बीमा बजारमा आफ्नो व्यवसाय विस्तार गर्दै आएको छ। कम्पनीले सेवा विस्तार, डिजिटल प्रविधिको प्रयोग र बीमा पहुँच वृद्धि गर्ने रणनीतिमा जोड दिँदै आएको अवस्थामा सीईओको पुनरागमनलाई व्यवस्थापनको निरन्तरताका रूपमा हेरिएको छ।