नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा फेरि पर्वतकुमार कार्की
काठमाडौं । सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्कीलाई पुनः नियुक्त गरेको छ। मन्त्रिपरिषद् बैठकले नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४२ को उपदफा १ अनुसार कार्कीलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो। उदयपुर स्थायी घर भएका कार्की नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकबाट अवकाश प्राप्त अधिकारी हुन्।
कार्की यसअघि पनि नागरिक लगानी कोषको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिसकेका छन्। २०८० माघ ३ गते खुला प्रतिस्पर्धाबाट छनोट हुँदै उनी पहिलोपटक उक्त पदमा पुगेका थिए।
करिब तीन दशकको वित्तीय क्षेत्रको अनुभव भएका कार्कीले नेपाल राष्ट्र बैंकमा विभिन्न जिम्मेवारी सम्हाल्नुका साथै नेपाल ग्रामीण विकास बैंक र किसान लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतका रूपमा समेत काम गरेका छन्।
उनले अस्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयबाट मास्टर अफ बैंकिङ एन्ड फाइनान्स (एमबीएफ) तथा त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन्।
केन्द्रीय बैंकिङ, वित्तीय स्थिरता र वित्तीय बजार विश्लेषणलगायतका क्षेत्रमा उनले विभिन्न अन्तर्राष्ट्रिय तालिमसमेत लिएका छन्। वित्तीय क्षेत्रको लामो अनुभव भएका कार्कीको पुनर्नियुक्तिले नागरिक लगानी कोषको व्यवस्थापनमा निरन्तरता पाउने अपेक्षा गरिएको छ।
