ऐतिहासिक सिञ्जामा पुग्यो फोर–जी, दुर्गम पर्यटनसँगै डिजिटल पहुँच विस्तार
काठमाडौं । नेपाली भाषा अर्थात् खस भाषाको उद्गमस्थलका रूपमा चिनिने जुम्लाको ऐतिहासिक सिञ्जा उपत्यकामा नेपाल टेलिकमले फोर–जी सेवा विस्तार गरेको छ।
कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा नयाँ मोबाइल टावर सञ्चालनमा ल्याउँदै शुक्रबारदेखि फोर–जी सेवा सुरु गरिएको हो। टावर सञ्चालनमा आएपछि गाउँपालिकाका वडा नं. ३, ४, ५, ६ र ८ का विभिन्न बस्तीमा तीव्र गतिको मोबाइल इन्टरनेट पहुँच पुगेको छ।
नेपाल टेलिकम जुम्लाका कार्यालय प्रमुख पारस पुजाराका अनुसार नयाँ टावरबाट गौरी, ओखरवाडा, हाट सिञ्जा, सिम्पाती, लुड्कु, गुठीज्युला, बडुवालवाडा, बारकुडीवाडा, सञ्जेलवाडा, जाच र गोडिङ्गाललगायत क्षेत्र लाभान्वित हुनेछन्।
टावर स्थापना भएको दुई महिनाभन्दा बढी भए पनि राष्ट्रिय प्रसारण लाइनको विद्युत् नपुगेका कारण सेवा सञ्चालनमा ढिलाइ भएको थियो। विद्युत् विस्तार हुन नसकेपछि तत्कालका लागि सोलार ब्याट्री प्रणालीबाट टावर सञ्चालन गरिएको टेलिकमले जनाएको छ।
पर्यटनका लागि पनि महत्वपूर्ण पूर्वाधार
सिञ्जा उपत्यका ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक पर्यटनका दृष्टिले महत्वपूर्ण क्षेत्र हो। फोर–जी सेवा पुगेपछि यहाँ आउने पर्यटक, पदयात्री तथा स्थानीय व्यवसायीलाई सञ्चार र डिजिटल सेवामा सहजता हुने अपेक्षा गरिएको छ।
पर्यटकले यात्रा, होटल तथा गन्तव्यसम्बन्धी सूचना खोज्न, डिजिटल भुक्तानी गर्न र परिवार तथा निकटस्थसँग सम्पर्कमा रहन मोबाइल इन्टरनेट प्रयोग गर्न सक्नेछन्। यसले सिञ्जालाई पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्न पनि सहयोग पुग्ने देखिन्छ।
नेपाल टेलिकमले दुर्गम तथा पर्यटकीय क्षेत्रलाई प्राथमिकतामा राख्दै फोर–जी विस्तार गरिरहेको जनाएको छ। बाजुराको बडीमालिका क्षेत्र र सगरमाथा आधार शिविर आसपास पनि सेवा विस्तारको काम अघि बढाइएको छ।
यसअघि डोल्पाको ल्हान र दुनै तथा ताप्लेजुङको ओलाङचुङगोला जस्ता उच्च हिमाली क्षेत्रमा समेत फोर–जी सेवा सञ्चालनमा आइसकेको छ।
देशभर सञ्चार पहुँच विस्तारका लागि करिब १ हजार ६ सय नयाँ मोबाइल टावर तथा साइट निर्माणको प्रक्रिया अघि बढाइएको छ। ग्रामीण क्षेत्रमा सेवा विस्तार र गुणस्तर सुधारका लागि नेपाल टेलिकमले चालु आर्थिक वर्षमा मात्रै ६ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने तयारी गरेको छ।
दुर्गम क्षेत्रलाई सञ्चार सञ्जालसँग जोड्ने यस्तो विस्तारले स्थानीय बासिन्दाको डिजिटल पहुँच बढाउनुका साथै ऐतिहासिक तथा पर्यटकीय गन्तव्यको प्रवर्द्धनमा समेत थप टेवा पुग्ने अपेक्षा गरिएको छ।
