‘सुपर एल निनो’को सम्भावित असरले ऊर्जा सुरक्षामा जोखिम बढाउने चिन्ता
प्रगति ढकाल
काठमाडौं । सन् २०२६ को अन्त्यदेखि २०२७ को सुरुआतसम्म ‘सुपर एल निनो’ विकसित हुनसक्ने सम्भावनासँगै नेपालमा पानीको उपलब्धता, कृषि, खाद्य सुरक्षा र जलविद्युत् उत्पादनमा पर्न सक्ने असरबारे चिन्ता बढेको छ। विज्ञहरूले एल निनो बलियो बन्दै गएमा वर्षा घट्न सक्ने र त्यसको प्रत्यक्ष असर नेपालको ऊर्जा प्रणालीमा पर्नसक्ने बताएका छन्।
जल तथा मौसम विज्ञान विभागको प्रारम्भिक आकलनअनुसार एल निनो थप सशक्त हुँदै ‘धेरै बलियो’ वा ‘सुपर एल निनो’को अवस्थामा पुग्नसक्ने सम्भावना छ। यस्तो अवस्थामा तापक्रम बढ्ने, खडेरीको जोखिम बढ्ने र पानीका स्रोतमा कमी आउनसक्ने भएकाले जलस्रोतमा निर्भर नेपालको अर्थतन्त्र प्रभावित हुनसक्ने देखिन्छ।
विशेषगरी नेपालको विद्युत् उत्पादनमा जलविद्युत्को हिस्सा ठूलो रहेकाले नदीको बहाव घटेमा ऊर्जा उत्पादनमै दबाब पर्नसक्ने सरोकारवालाको भनाइ छ। जल तथा ऊर्जा आयोगको सचिवालयका सरजुकुमार वैद्यका अनुसार नेपालको ८० प्रतिशतभन्दा बढी विद्युत् उत्पादन नदीको बहावमा आधारित आयोजनाबाट हुने भएकाले कमजोर मनसुनले विद्युत् प्रणालीको सन्तुलनमा चुनौती थप्न सक्छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीले एल निनो मौसमविद्को विषयमा मात्र सीमित नरहेको बताउँदै यसको प्रभाव नागरिकको जीविकोपार्जन र अर्थतन्त्रसम्म पुग्ने उल्लेख गरिन्। उनका अनुसार पहाडी क्षेत्रमा पानीका मुहान सुक्दा स्थानीय बासिन्दाको समय र श्रम बढ्ने तथा नदीमा पानीको बहाव घट्दा जलविद्युत् उत्पादन प्रभावित हुनसक्छ।
नेपालमा वार्षिक करिब २२५ अर्ब घनमिटर पानी उपलब्ध भए पनि यसको समय र स्थानअनुसार वितरण समान छैन। कृषि अझै मनसुनमा निर्भर रहेको अवस्थामा वर्षा घटेमा उत्पादनमा समेत असर पर्नसक्ने जोखिम छ। हिमाल, हिमनदी र हिमाली क्षेत्रबाट आउने नदीहरू जलसुरक्षा र ऊर्जा उत्पादनका महत्वपूर्ण आधार भएकाले जलवायुजन्य परिवर्तनले दीर्घकालीन चुनौती थप्न सक्ने विज्ञहरूको भनाइ छ।
तर एल निनो देखिँदैमा नेपालमा निश्चित रूपमा वर्षा कम हुन्छ भन्ने अवस्था नरहेको पनि विज्ञहरूले स्पष्ट पारेका छन्। विगतमा नेपालका विभिन्न क्षेत्रमा एल निनोका बेला वर्षा घट्ने र बढ्ने दुवै प्रवृत्ति देखिएका छन्। त्यसैले एल निनोको अवस्थासँगै स्थानविशेषको मौसम पूर्वानुमानलाई आधार बनाएर योजना बनाउनुपर्नेमा जोड दिइएको छ।
जल तथा मौसम विज्ञान विभागकी महानिर्देशक डा. अर्चना श्रेष्ठले एल निनो कमजोरबाट बलियो हुँदै जाँदा नेपालका अधिकांश क्षेत्रमा मनसुनका बेला सामान्यभन्दा कम वर्षा हुने सम्भावना बढ्ने बताइन्। विभागको विश्लेषणमा कमजोर एल निनोमै पनि धेरै स्थानमा कम वर्षाको प्रवृत्ति देखिएको छ भने बलियो एल निनोमा यस्तो सम्भावना अझ व्यापक हुने देखिएको छ।
प्रदेशगत रूपमा समेत प्रभाव फरक हुनसक्ने विभागको अध्ययनले देखाएको छ। मधेस र बागमती प्रदेशमा सामान्यभन्दा कम वर्षाको सम्भावना ६६ प्रतिशतसम्म देखिएको छ भने कर्णालीमा यस्तो सम्भावना शतप्रतिशतसम्म पुग्ने विश्लेषण गरिएको छ। हिउँदको वर्षामा भने प्रदेशअनुसार फरक–फरक प्रवृत्ति देखिनसक्ने विभागले जनाएको छ।
एल निनोको सम्भावित प्रभावलाई ध्यानमा राख्दै पानी, कृषि, ऊर्जा, खाद्य सुरक्षा तथा विपद् व्यवस्थापनका क्षेत्रमा पूर्वतयारी थाल्नुपर्ने विज्ञहरूको सुझाव छ। वैज्ञानिक पूर्वानुमानलाई सम्बन्धित निकायको निर्णय प्रक्रियासँग जोड्दै जोखिम मूल्याङ्कन, जलस्रोत व्यवस्थापन र ऊर्जा सुरक्षा योजनालाई समयमै अघि बढाउनुपर्नेमा उनीहरूले जोड दिएका छन्।
सरकारले विगतका एल निनो वर्षबाट प्राप्त अनुभवको समीक्षा गर्दै मौसमी पूर्वानुमानको उपयोग बढाउने, जोखिमयुक्त क्षेत्रमा पूर्वतयारी गर्ने तथा जलस्रोत र ऊर्जा क्षेत्रमा सम्भावित क्षतिको मूल्याङ्कन गर्ने कामलाई प्राथमिकता दिनुपर्ने देखिन्छ। ‘सुपर एल निनो’को अवस्था विकसित भएमा त्यसको असर मौसममा मात्र नभई नेपालको ऊर्जा, कृषि र समग्र अर्थतन्त्रमा समेत देखिनसक्ने भएकाले अहिलेबाटै तयारी आवश्यक रहेको सरोकारवालाको निष्कर्ष छ।
