पानी परेपछि घरमा बस्न डर, छिमेकीको आश्रयमा रात काट्दै बैतडीका पहिरोपीडित
बैतडी । आकाशमा बादल लाग्नासाथ बैतडीको सुर्नया गाउँपालिका–८ रातापानीका बासिन्दामा त्रास बढ्छ। वर्षा सुरु भएपछि उनीहरू आफ्नै घरमा बस्न सक्ने अवस्था छैन। पहिरोको जोखिमका कारण रात बिताउन छिमेकीको घरमा आश्रय लिनुपर्ने बाध्यता छ।
स्थानीय मिना बोहराका लागि वर्षा राहत होइन, डर लिएर आउने मौसम बनेको छ। गत वर्ष पहिरोले उनको खेत बगायो। यस वर्ष पहिरो घरतर्फ बढेपछि परिवारको सुरक्षाको चिन्ता थपिएको छ।
‘पानी पर्न थालेपछि घरमा बस्न डर लाग्छ। त्यसपछि छिमेकीको घरमा बास खोज्न जानुपर्छ,’ मिना भन्छिन्, ‘पहिरो लगातार खसिरहेकाले कुनै पनि बेला घरमा क्षति पुग्ने डर छ।’
रातापानीमा मिना मात्रै होइन, धेरै परिवारको अवस्था उस्तै छ। पहिरोले भान्सा र शौचालयमा समेत क्षति पुर्याएको छ। घरमाथिको जमिन चर्किएपछि स्थानीयहरू सामान्य वर्षामा पनि ढुक्क भएर बस्न सक्ने अवस्थामा छैनन्।
स्थानीय भुवन बोहराका अनुसार वर्षा सुरु भएपछि परिवारलाई घरबाट बाहिर निकालेर सुरक्षित स्थानमा लैजानुपर्ने अवस्था आउँछ। ‘पहिरो घरभित्र कतिबेला पस्छ थाहा हुँदैन। पानी परेपछि छिमेकीको घरमा गएर रात बिताउनुपर्छ,’ उनले भने।
गत साउन २६ गते गएको पहिरोपछि रातापानीका सात घर उच्च जोखिममा परेका छन्। रामसिंह बोहरा, धनुवा बोहरा, मिना बोहरा, गम्भीरसिंह बोहरा, उदयसिंह बोहरा, चक्र बोहरा र कृष्ण बोहराका परिवार जोखिममा छन्।
स्थानीयका अनुसार रातापानीमा २०७८ सालदेखि पहिरोको समस्या देखिँदै आएको हो। वर्षौंदेखि पहिरो रोकथाम र बस्ती सुरक्षाका लागि सम्बन्धित निकायसँग आग्रह गरिए पनि दीर्घकालीन समाधान हुन नसकेको उनीहरूको गुनासो छ।
स्थानीय कृष्ण बोहराले घरमाथिको जमिन चर्किएको र खानेपानी तथा सडकको समस्या समेत थपिएको बताए। पहिरोका कारण बालबालिकालाई विद्यालय पुग्नसमेत कठिन भएको उनको भनाइ छ।
‘घरमाथिको जमिन चर्किएको छ, खानेपानीको समस्या छ। विद्यालय जाने बाटो पनि पहिरोले बिगारेको छ। यस्तो अवस्थामा दीर्घकालीन समाधानका लागि बस्ती नै सार्नु उचित हुन्छ,’ उनले भने।
४० रोपनीभन्दा बढी खेतीयोग्य जमिनमा क्षति
पहिरोले रातापानीका घर मात्र होइन, स्थानीयको खेतीपातीसमेत नराम्ररी प्रभावित गरेको छ। वडा अध्यक्ष भानबहादुर बोहराका अनुसार उक्त क्षेत्रमा ४० रोपनीभन्दा बढी खेतीयोग्य जमिनमा क्षति पुगेको छ।
स्थानीय गम्भीर बोहराको करिब १५ रोपनीभन्दा बढी जमिन पहिरोले बगाएको छ। मकै लगाइएको खेत बगेपछि उनको परिवारको आम्दानीको आधारसमेत कमजोर बनेको छ।
‘मकै लगाएको खेत सबै पहिरोले बगायो। घर पनि जोखिममा छ। अब कहाँ जाने भन्ने चिन्ता छ,’ उनले भने।
पहिरोले बाँकी जमिनमा समेत चिरा पारेकाले थप वर्षा भए क्षति अझ बढ्नसक्ने स्थानीयको भनाइ छ।
प्रभावित परिवारलाई स्थानान्तरणको तयारी
पहिरो प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन शुक्रबार बैतडीकी प्रमुख जिल्ला अधिकारी मीना अर्यालको नेतृत्वमा टोली रातापानी पुगेको थियो।
स्थलगत निरीक्षणपछि प्रजिअ अर्यालले जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको बताइन्। सम्भावित स्थानान्तरणका लागि टेन्ट, त्रिपाललगायत आवश्यक सामग्रीको व्यवस्थापन गर्न सम्बन्धित निकायसँग समन्वय भइरहेको उनले जानकारी दिइन्।
पहिरोका कारण अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालनमा आए पनि खानेपानीको समस्या समाधानका लागि सम्बन्धित पक्षलाई निर्देशन दिइएको प्रशासनले जनाएको छ।
पहिरोले सडकसमेत क्षतिग्रस्त बनाएपछि विद्यार्थीको विद्यालय यात्रा पनि कठिन बनेको छ। सामान्य अवस्थामा करिब आधा घण्टामा पुगिने विद्यालय पुग्न अहिले डेढ घण्टासम्म लाग्ने गरेको स्थानीयले बताएका छन्।
वर्षौंदेखि पहिरोको जोखिममा रहेका रातापानीका बासिन्दाका लागि अहिलेको मुख्य माग अस्थायी राहतभन्दा पनि सुरक्षित र स्थायी बसोबास हो। लगातार चर्किँदै गएको जमिन र बस्तीमाथि बढिरहेको जोखिमले उनीहरूलाई आफ्नै घरभन्दा छिमेकीको घर सुरक्षित लाग्ने अवस्था सिर्जना गरेको छ।
