कालीगण्डकीको बाढीले म्याग्दीको प्रसिद्ध तातोपानी कुण्ड बगायो, करोडको संरचना ध्वस्त
म्याग्दी — कालीगण्डकी नदीमा आएको बाढी र कटानका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, रातोपानीस्थित प्रसिद्ध प्राकृतिक तातोपानी कुण्ड बगरमा परिणत भएको छ। प्राकृतिक उपचार, स्नान र पर्यटनका लागि परिचित कुण्डका संरचना बाढीले बगाएपछि यसको पुरानो अस्तित्व नै समाप्त भएको छ।
असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले कुण्डका भौतिक संरचना बगाएको हो। बाढीबाट कुण्ड संरक्षण तथा पर्यटकीय पूर्वाधार निर्माणमा गरिएको करिब एक करोड रुपैयाँभन्दा बढीको लगानीमा क्षति पुगेको अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष रामबहादुर खड्काले बताए।
उनका अनुसार गाउँपालिकाले विगत नौ वर्षदेखि कुण्डलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न लगानी गर्दै आएको थियो। तर, बाढीले कुण्ड रहेको स्थानमै नदीको बहाव परिवर्तन गरिदिएको छ। अहिले पुरानो कुण्ड भएको ठाउँबाट कालीगण्डकी बगिरहेको छ भने तातोपानीको मुहान पनि करिब ३० मिटर तल सरेको छ।
नदीको कटान रोक्न निर्माण गरिएको पक्की पर्खाल, तातोपानीमा स्नान गर्न बनाइएको पोखरी, टहरा, विश्रामस्थल र शौचालयलगायतका संरचना बाढीले क्षतिग्रस्त बनाएको छ।
पर्यटन र स्थानीय व्यवसायमा असर
प्राकृतिक तातोपानीको मुहान संरक्षण तथा व्यवस्थापन गरेर गाउँपालिकाले आन्तरिक आम्दानीसमेत गर्दै आएको थियो। चालु आर्थिक वर्ष २०८३/८४ मा कुण्ड सञ्चालनका लागि चार लाख पाँच हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो।
स्थानीयवासी दयाराम जिसीका अनुसार गाउँपालिका, प्रदेश सरकार, स्थानीयवासी र दाताको सहयोगमा कुण्डको संरक्षण तथा व्यवस्थापन गरिएको थियो। त्यसपछि यो स्थान स्नान, मनोरञ्जन र प्राकृतिक उपचारका लागि आउने मानिसको आकर्षण बनेको थियो।
कुण्डमा पर्यटक तथा बिरामीको आवागमन बढेसँगै रातोपानी, पोखरेबगर र ठूलोबगर क्षेत्रका होटल तथा स्थानीय व्यवसायसमेत चलायमान भएका थिए। तर, बाढीले कुण्डका संरचना नष्ट गरेपछि स्थानीयको रोजगारी, आम्दानी र पर्यटन व्यवसायमा समेत असर परेको छ।
बेनी–जोमसोम सडकको छेउमा रहेको यस मुहानबाट प्रतिसेकेन्ड ११ लिटरका दरले ५६ डिग्री सेल्सियस तापक्रमको तातोपानी निस्कने गर्दथ्यो। यहाँ १० मिटर लम्बाइ र १० मिटर चौडाइको पोखरी निर्माण गरिएको थियो, जहाँ एकपटकमा ४० देखि ५० जनासम्मले स्नान गर्न सक्थे।
मुस्ताङ भ्रमण गरेर फर्किने पर्यटकले समेत थकान मेटाउन यस कुण्डमा स्नान गर्ने गरेका थिए। चोटपटक, शरीर दुख्ने समस्या तथा ग्यास्ट्रिकलगायतका समस्याबाट राहत पाउने आशामा मानिसहरू यहाँ आउने गर्थे। यसले रातोपानीलाई स्वास्थ्य तथा पर्यटनसँग जोडिएको गन्तव्यका रूपमा चिनाएको थियो।
अर्को स्थानमा स्नानस्थल बनाउने विकल्पको खोजी
बाढीले पुरानो स्थानमा पुनः कुण्ड निर्माण गर्न कठिन हुने गरी क्षति पुर्याएपछि गाउँपालिकाले वैकल्पिक उपायबारे छलफल थालेको छ।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार तातोपानीको मुहानबाट पानी अन्यत्र स्थानमा लगेर स्नानस्थल निर्माण गर्ने विकल्पबारे विचार भइरहेको छ।
प्राकृतिक सम्पदाको संरक्षण र पर्यटन प्रवर्द्धनमार्फत स्थानीय अर्थतन्त्रलाई सहयोग पुर्याउँदै आएको तातोपानी कुण्ड बाढीले नष्ट गरेपछि अब यसको पुनःव्यवस्थापन र स्थानीय व्यवसायलाई पुनर्जीवित गर्ने चुनौती थपिएको छ।
