बालेन नेतृत्वको सरकार पाँच वर्ष नटिक्ने ओलीको दाबी, ‘बहुमत देखाउन बाकस साटियो’
भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार पूरा पाँच वर्ष चल्न नसक्ने दाबी गरेका छन्।
भक्तपुरको नगरकोटमा सुरु भएको एमाले बागमती प्रदेशको ‘जनसंगठन समन्वय संयन्त्र कार्यशाला’लाई सम्बोधन गर्दै ओलीले वर्तमान सरकार गठनको प्रक्रियामाथि नै प्रश्न उठाए। उनले जनतालाई त्रसित बनाउँदै तथा निर्वाचनका मतपेटिका हेरफेर गरेर बहुमत हासिल गरेको आरोप लगाए।
ओलीले बहुमत प्राप्त हुँदैमा सरकारले जनतामाथि मनपरी गर्ने अधिकार नपाउने बताए। उनका अनुसार सरकारको कार्यशैलीप्रति असन्तुष्टि बढ्दै गएकाले यसको आयु पाँच वर्षसम्म पुग्ने सम्भावना छैन।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमत दिलाएका मतदाताले अहिले आफ्नो निर्णयप्रति पश्चात्ताप गरिरहेको दाबी पनि गरे। सरकारको कथित स्वेच्छाचारिताविरुद्ध नागरिकस्तरबाटै प्रतिरोध आवश्यक रहेको भन्दै ओलीले एमालेका नेता तथा कार्यकर्तालाई त्यसका लागि तयार रहन निर्देशन दिए।
ओलीले वर्तमान सरकारका कारण लोकतन्त्र कमजोर बनेको र संविधानको उल्लङ्घन भएको आरोप लगाए। आफूहरू विगतमा राजतन्त्र अन्त्य गरी गणतन्त्र स्थापना गर्ने आन्दोलनको नेतृत्व गरेको शक्ति भएकाले कुनै बाह्य शक्तिसँग नडराउने उनको भनाइ थियो।
‘सरकार कुन शक्तिको आडमा चलेको छ भन्ने कुराले हामीलाई फरक पार्दैन,’ ओलीले भने, ‘हामी यस्ता शक्तिसँग डराउँदैनौँ।’
सरकार तथा उसका समर्थकबाट सामाजिक सञ्जालमार्फत आलोचकलाई दबाब र त्रास सिर्जना गर्ने काम भइरहेको आरोपसमेत उनले लगाए। सामाजिक सञ्जालमा सरकारको आलोचना वा असहमतिको धारणा राख्दा गालीगलौज र आक्रमण हुने गरेको उनको भनाइ थियो।
ओलीले नेता तथा कार्यकर्तालाई सामाजिक सञ्जालको दबाबबाट विचलित नहुन आग्रह गर्दै जनजीविका, जनता र सत्यका पक्षमा निर्भीक भएर आवाज उठाउन निर्देशन दिए।
एमाले बागमती प्रदेश जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको दुईदिने कार्यशालामा पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ।
