रसुवामा आकस्मिक बाढी, स्याफ्रुबेसी क्षेत्रमा क्षतिको प्रारम्भिक विवरण
रसुवा। रसुवामा अचानक आएको ठूलो बाढीले स्याफ्रुबेसीलगायतका बजार तथा बस्ती क्षेत्रमा क्षति पुर्याएको छ। छोटो समयमै आएको बाढीले स्थानीय पूर्वाधार तथा घरबस्तीमा असर गरेको प्रारम्भिक विवरण प्राप्त भएको छ।
रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बाढीबाट भएको क्षतिको विस्तृत विवरण भने अझै संकलन भइरहेको छ। बाढीको वास्तविक कारणसमेत अहिलेसम्म पुष्टि हुन सकेको छैन।
परियारका अनुसार जिल्ला सदरमुकाम आसपास भने वर्षा भएको छैन। सदरमुकाम क्षेत्रमा घाम लागिरहेका बेला माथिल्लो क्षेत्रमा अचानक बाढी आएको हो। उनले माथिल्लो भेगमा हिमताल फुटेको हुन सक्ने आशंका गरिए पनि यसको पुष्टि नभएको बताए।
‘अचानक बाढी आएको सूचना आएको छ। केही ठूलो क्षति भएको भन्ने जानकारी आएको छ, तर यकिन विवरण प्राप्त भइसकेको छैन,’ उनले बताए।
स्थानीय प्रशासनले बाढी प्रभावित क्षेत्रका बासिन्दासँग सम्पर्क गरी क्षतिको विवरण संकलन तथा आवश्यक उद्धार र राहतका लागि समन्वय गरिरहेको जनाएको छ।
यसैबीच रसुवाबाट आएको आकस्मिक बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढ्न सक्ने भन्दै धादिङ प्रशासनले नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
धादिङका प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचनामा नदीमा माछा मार्ने, मजदुरी गर्ने तथा अन्य कामका लागि पुगेका व्यक्तिलाई तत्काल नदीबाट टाढा सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।
त्रिशूली नदी किनारमा बसोबास गर्ने नागरिक, निर्माणाधीन तथा सञ्चालनमा रहेका आयोजना र तटीय क्षेत्रमा रहेका कार्यालयलाई समेत आवश्यक पूर्वतयारी र सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रशासनले विपद्को अवस्था सिर्जना भए तत्काल स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय वा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रमा खबर गर्न आग्रह गरेको छ।
बाढीको स्रोत, क्षतिको वास्तविक अवस्था र सम्भावित थप जोखिमबारे विस्तृत विवरण संकलन भएपछि मात्रै घटनाको पूर्ण तस्वीर स्पष्ट हुने देखिएको छ।
