रेमिटेन्स २३ खर्ब ६३ अर्ब, विदेशी मुद्रा सञ्चिति झन्डै ३९ खर्ब
काठमाडौं । नेपालले गत आर्थिक वर्ष २०८२/८३ मा २३ खर्ब ६३ अर्ब रुपैयाँ रेमिटेन्स भित्र्याएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा रेमिटेन्स आप्रवाह ३७ प्रतिशतले बढेको हो।
आर्थिक वर्ष २०८१/८२ मा नेपालमा १७ खर्ब २३ अर्ब रुपैयाँ रेमिटेन्स आएको थियो। पछिल्लो वर्ष औसतमा मासिक करिब १ खर्ब ९७ अर्ब रुपैयाँ बराबर रेमिटेन्स भित्रिएको देखिन्छ। विगत साढे दुई वर्षयता भने मासिक रेमिटेन्स आप्रवाह १ खर्ब रुपैयाँभन्दा माथि रहँदै आएको छ।
यस अवधिमा नेपालबाट करिब ११ अर्ब ९८ करोड रुपैयाँ रेमिटेन्स बाहिरिएको छ। अघिल्लो वर्ष यस्तो रकम ११ अर्ब १७ करोड रुपैयाँ थियो।
वैदेशिक रोजगारीमा जाने घटे
रेमिटेन्स बढे पनि वैदेशिक रोजगारीका लागि जाने नेपालीको संख्या भने घटेको छ। गत वर्षको तुलनामा नयाँ तथा पुनः श्रम स्वीकृति लिनेको संख्या ५.५९ प्रतिशतले कम भएको हो।
अघिल्लो वर्ष ८ लाख ३९ हजार जनाले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका थिए भने गत वर्ष यो संख्या ७ लाख ९२ हजारमा झरेको छ। इरान–इजरायल द्वन्द्वका कारण मध्यपूर्वको रोजगारी प्रभावित हुनु र केही दिन नेपालबाट मध्यपूर्वतर्फका हवाई उडानसमेत अवरुद्ध हुनु यसको एउटा कारण रहेको बताइएको छ।
विदेशी मुद्रा सञ्चितिमा नयाँ कीर्तिमान
रेमिटेन्स आप्रवाह बढेसँगै नेपालको विदेशी मुद्रा सञ्चितिले पनि नयाँ उचाइ कायम गरेको छ। गत आर्थिक वर्षको अन्त्यसम्म विदेशी मुद्रा सञ्चिति ३८ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ।
डलरमा हेर्दा सञ्चिति २५ अर्ब ३० करोड अमेरिकी डलर पुगेको छ, जुन हालसम्मकै उच्च हो।
विदेशी मुद्रा सञ्चितिले अब करिब १९ महिना १८ दिनको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्था बनेको छ। सामान्यतः कम्तीमा सात महिनाको आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चितिलाई पर्याप्त मानिन्छ। यस आधारमा नेपालको बाह्य क्षेत्रको अवस्था बलियो देखिएको छ।
आयात पनि बढ्यो
विदेशी मुद्रा सञ्चिति उच्च रहेकै बेला गत आर्थिक वर्षमा नेपालको आयात पनि १६.२ प्रतिशतले बढेको छ। एक वर्षमा २० खर्ब ९६ अर्ब रुपैयाँ बराबरका वस्तु आयात भएका छन्।
अघिल्लो आर्थिक वर्षमा आयात १८ खर्ब ४ अर्ब रुपैयाँ रहेको थियो। यसरी रेमिटेन्स र विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य वृद्धि भए पनि आयाततर्फको निर्भरता भने कायमै रहेको देखिन्छ।
