स्याउ फलाउन किसानको वर्षौं मेहनत, बेच्न बजार नपाउँदा बगैँचामै कुहिँदै
बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिका–६ खालीगडाका किसानका बगैँचा यतिबेला स्याउले भरिएका छन् । बोटका हाँगा नुहिने गरी फल लागेको छ । तर, किसानको अनुहारमा भने उत्पादनको खुसीभन्दा बजारको चिन्ता बढी देखिन्छ ।
वर्षौंको मेहनतपछि राम्रो उत्पादन हात परे पनि स्याउ बजारसम्म पुर्याउने बाटो सहज छैन । गाउँबाट सडक पुगेको ठाउँसम्मै करिब दुई घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ । त्यसपछि महँगो ढुवानी, वर्षायाममा बिग्रने सडक र बजारमा बाहिरबाट आउने सस्तो स्याउका कारण किसानले उत्पादनको उचित मूल्य पाउन सकेका छैनन् ।
१६ वर्षदेखि स्याउ खेती गर्दै आएकी भरूनी थापाको बगैँचामा अहिले स्याउ लटरम्म फलेको छ । परिवारले वर्षभरि गरेको मेहनतको परिणाम बोटमा झुन्डिएको देख्दा खुसी लागे पनि ती फल कहाँ बेच्ने भन्ने चिन्ताले उनलाई सताएको छ ।
स्याउ जोगाउन पनि किसानलाई उत्तिकै कठिन छ । बाँदर, भालु, बँदेल, ओध, अरिङ्गाल तथा चराचुरुङ्गीबाट फल जोगाउन चौबिसै घण्टा निगरानी गर्नुपर्ने अवस्था छ ।
‘स्याउ त राम्रै फल्यो, तर बेच्ने ठाउँ छैन,’ किसानहरूको साझा गुनासो छ । उत्पादन बगैँचामै थन्किँदा कतिपय फल झरेर कुहिने गरेका छन् भने वन्यजन्तुले पनि ठूलो क्षति पुर्याउने गरेका छन् ।
सडक र ढुवानी नै मुख्य समस्या
खालीगडाका किसानका लागि बजारसम्म पुग्नु नै सबैभन्दा ठूलो चुनौती बनेको छ । गाउँबाट मुख्य सडकसम्म स्याउ पुर्याउन श्रम र पैसा दुवै खर्च हुन्छ । त्यसपछि पनि ग्रामीण सडकको अवस्था र वर्षायामको अवरोधले ढुवानी झनै महँगो बनाउँछ ।
खप्तडछान्ना–५ का किरण गिरीका अनुसार स्याउ पाक्ने मुख्य समयमै पहाडी सडक अवरुद्ध हुने भएकाले किसानले उत्पादन बजारसम्म लैजान सक्दैनन् ।
कतिपय अवस्थामा स्याउको मूल्यभन्दा बजारसम्म पुर्याउँदाको ढुवानी खर्च बढी पर्न जाने किसान बताउँछन् । यही कारण राम्रो उत्पादन हुँदा पनि उनीहरू सस्तोमै बेच्न वा बगैँचामै छाड्न बाध्य छन् ।
बाहिरको सस्तो स्याउसँग प्रतिस्पर्धा
बझाङका बजारमा अहिले भारतको हिमाचल प्रदेशबाट आउने स्याउसँगै नेपालका जुम्ला र मुस्ताङका स्याउ पनि सहजै उपलब्ध छन् । ती स्याउ करिब १५० देखि १७० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेका छन् ।
स्थानीय किसानको स्याउ भने बजारसम्म पुग्दा ढुवानी र अन्य खर्च थपिएर महँगो पर्न जान्छ । फलस्वरूप स्थानीय उत्पादनले बाहिरबाट आउने स्याउसँग मूल्यमा प्रतिस्पर्धा गर्न सकिरहेको छैन ।
खप्तडछान्ना–६ का नरेन्द्र थापाका अनुसार खालीगडामा उत्पादन भएको स्याउ बगैँचामै प्रतिकिलो ८० रुपैयाँमा दिन खोज्दा समेत पर्याप्त खरिदकर्ता भेटिँदैनन् ।
‘उत्पादन गरेर मात्र हुँदैन रहेछ, बिक्रीका लागि बजार पनि चाहिँदो रहेछ,’ उनी भन्छन् ।
बजार अभावकै कारण उत्पादनको ठूलो हिस्सा खेर जाने गरेको उनको भनाइ छ । ढुवानी खर्च तिर्न तयार भए पनि स्याउ बोक्ने मानिससमेत सहजै नपाइने समस्या किसानले भोगिरहेका छन् ।
८ सय बोट रोपे, बजार नपाउँदा विदेश जाने सोच
खालीगडाका किसान कैलाश खड्काले आम्दानी हुने आशामा करिब ८ सय स्याउका बोट रोपे । तीमध्ये करिब ३ सय बोटमा यस वर्ष राम्रो फल लागेको छ ।
बगैँचा स्याउले भरिँदा खुसी हुने खड्काको चिन्ता भने फल टिपेपछि सुरु हुन्छ । उत्पादन बेचेर परिवार चलाउने र छोराछोरीको पढाइ खर्च जुटाउने उनको योजना बजार अभावका कारण संकटमा परेको छ ।
गत वर्ष उनले ज्याला तिरेर डोकामा स्याउ बोकेर बाजुराको काँडा–डोगडीसम्म पुर्याए । तर, त्यहाँ पनि पर्याप्त खरिदकर्ता भेटिएनन् । अन्ततः स्याउ बिक्री गर्नुको सट्टा कोदो, मूला र आलुसँग साटेर घर फर्किनुपरेको उनले बताए ।
गाउँमै उपभोक्ता घट्दै गएको र टाढाको बजारसम्म ठूलो परिमाणमा स्याउ पुर्याउने क्षमता किसानसँग नभएको उनको भनाइ छ ।
‘उत्पादन छ, तर बजार छैन । अब त विदेश जाने सोचसमेत आउन थालेको छ,’ खड्काले भने ।
भण्डारणको व्यवस्था भए समस्या घट्ने
किसानहरूका अनुसार स्याउ उत्पादन हुने समयमै सबै फल बिक्री गर्न नसकिने भएकाले व्यवस्थित भण्डारण केन्द्रको आवश्यकता छ । गाउँमै चिस्यानयुक्त भण्डारण वा ‘कोल्ड स्टोर’ भए सिजनमा बिक्री नभएको स्याउ केही समय सुरक्षित राखेर पछि बजारमा पठाउन सकिने उनीहरूको अपेक्षा छ ।
यससँगै सडक सुधार, ढुवानीमा सहुलियत, बजार सुनिश्चितता, ग्रेडिङ तथा प्याकेजिङको व्यवस्था गर्न सके स्थानीय स्याउ खेती व्यावसायिक बन्न सक्ने किसान बताउँछन् ।
