बालेनको भनाइ : जलवायुजन्य विपद् विश्वमञ्चमा जोडदार रूपमा उठाउनुपर्छ
काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीलाई जलवायु परिवर्तनसँग जोडेर अन्तर्राष्ट्रिय समुदायसमक्ष सशक्त रूपमा उठाउनुपर्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत अवस्थाबारे जानकारी दिँदै प्रधानमन्त्री शाहले यो सामान्य प्रकृतिको बाढी नभई हिमालय क्षेत्रमा हिउँ तथा चट्टान खसेर सिर्जना भएको ठूलो विपत्ति भएको उल्लेख गरेका छन्। जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका यस्ता विपद्का विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने समय आएको उनको भनाइ छ।
उनका अनुसार सरकारको तत्कालीन प्राथमिकता उद्धारबाट पुनःस्थापनातर्फ सरेको छ। घर तथा सम्पत्ति गुमाएका नागरिकलाई मानसिक र शारीरिक रूपमा बलियो बनाउँदै सामान्य जीवनमा फर्काउन स्थानीय तहसँग समन्वय गरी प्रभावित परिवारको विवरण संकलन थालिएको छ।
सरकारी विवरणअनुसार विपद्मा हालसम्म ९३९ जनाको मृत्यु भएको छ भने ३ हजार ९२५ जना अझै सम्पर्कविहीन छन्। उद्धार गरिएका व्यक्तिको संख्या ११ हजार ३७९ पुगेको प्रधानमन्त्री शाहले बताएका छन्।
बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका २७९ जना घाइतेलाई विभिन्न अस्पतालमा उपचारका लागि भर्ना गरिएकोमा १६८ जना उपचारपछि घर फर्किसकेका छन्। मृत्यु भएकाको पहिचान तथा शव व्यवस्थापनका लागि सरकारले सम्बन्धित निर्देशिकाअनुसार डीएनए सुरक्षित राखेर वैज्ञानिक विधि अपनाइरहेको जनाएको छ।
रसुवा, नुवाकोट र धादिङमा चारवटा संकलन तथा २७ वटा वितरण केन्द्रमार्फत ३ हजार ६९६ प्रभावित परिवारलाई राहत उपलब्ध गराइएको छ। राहत तथा उद्धारमा भारत, चीन, अमेरिका, यूएई, कतार, जापान, स्वीट्जरल्यान्ड र अस्ट्रेलियाले सहयोग गरेका छन्।
प्रधानमन्त्री राहत कोषमा हालसम्म ५ अर्ब ८७ करोड ९२ लाख २३ हजार ८४२ रुपैयाँ तथा ३१ लाख ९३ हजार २३८ अमेरिकी डलर संकलन भएको जानकारी पनि उनले दिएका छन्।
बाढीका कारण अवरुद्ध नुवाकोटको त्रिशूलीपारिको क्षेत्र वैकल्पिक सडकमार्फत पुनः सडक सञ्जालमा जोडिएको छ। गल्छी–त्रिशूली राजमार्गको वैकल्पिक मार्ग प्रयोग गरी त्रिशूली बजारसम्म आवतजावत सहज बनाइएको छ।
सडक सम्पर्क पुनःस्थापनाका लागि नेपालसँग रहेका सातवटा बेलिब्रिजबाहेक भारतले थप सात र चीनले ३० वटा बेलिब्रिज उपलब्ध गराउने प्रतिबद्धता जनाएको प्रधानमन्त्री शाहले बताएका छन्। देवीघाट, त्रिशूली र बेत्रावतीमा तत्काल अस्थायी पुल निर्माण गर्ने तयारी छ।
बाढीबाट जलविद्युत आयोजनाहरूमा समेत ठूलो क्षति पुगेको छ। विभिन्न आयोजना तथा सुरुङमा फसेकाको उद्धारका लागि नेपाली सेनाले अभियान जारी राखेको छ। माथिल्लो त्रिशूली–१ बाट २५४ जनाको उद्धार गरिएको छ भने मैलुङ खोलाबाट नौ जनालाई सुरक्षित निकालिएको छ। त्रिशूली–३ए र ३बीका सुरुङमा खोजी जारी रहेको र ३बीबाट दुई जनाको उद्धार भएको प्रधानमन्त्रीले बताएका छन्।
त्यसैगरी त्रिशूली आयोजनाबाट तीन, सौर्यबाट चार र देवीघाटबाट चार जनाको उद्धार गरिएको छ।
विद्युत् सेवातर्फ नुवाकोटका ८५ प्रतिशत क्षेत्रमा आपूर्ति पुनःस्थापित भएको र बाँकी क्षेत्रमा पाँच दिनभित्र विद्युत् पुर्याउने लक्ष्य रहेको बताइएको छ। रसुवाको सदरमुकाम धुन्चेसहित करिब ३० प्रतिशत घरधुरीमा विद्युत् पुगेको छ भने प्रभावित क्षेत्रमा ५०० वटा पोर्टेबल सोलार वितरण गरिएको छ। धादिङमा ९८ प्रतिशत क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालनमा आएको छ।
सञ्चार सेवा पनि क्रमशः सामान्य बन्दै गएको छ। नेपाल टेलिकमका ११० र एनसेलका ७५ वटा टावर पुनः सञ्चालनमा आइसकेको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्।
