बाढीपीडितको राहतका लागि नेशनल लाइफले दियो १ करोड ५१ लाख
काठमाडौं — नेशनल लाइफ इन्स्योरेन्सले बाढी प्रभावितको राहत, पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि १ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो।
भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको गेग्रानसहितको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा राहत तथा पुनर्निर्माणका लागि सहयोग गरिएको कम्पनीले जनाएको छ।
सहयोग रकमको चेक नेशनल लाइफकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंह र प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले मंगलबार आयोजित कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
कम्पनीले विपद्बाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतका काममा सक्रिय हुन आफ्ना कर्मचारी र अभिकर्तालाई समेत आग्रह गरेको छ।
