नौ दिनपछि त्रिशूली–३ ‘ए’ को सुरूङबाट दुई जनाको जीवितै उद्धार
काठमाडौं । त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरूङमा नौ दिनदेखि फसेका दुई जनालाई जीवितै उद्धार गरिएको छ।
भदौ १० गते तिब्बततर्फबाट आएको भीषण बाढीपछि सुरूङभित्र फसेका सञ्जय शाह र कविर महर्जनलाई उद्धार टोलीले शुक्रबार बिहान बाहिर निकालेको हो।
खोज तथा उद्धार कार्यमा खटिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा इन्जिनियर श्रीराम न्यौपानेका अनुसार दुवै जनालाई सुरक्षित रूपमा सुरूङबाट बाहिर ल्याइएको छ।
उद्धारपछि नेपाली सेनाको टोलीले उनीहरूलाई घटनास्थलमै प्राथमिक उपचार उपलब्ध गराइरहेको छ। स्वास्थ्य अवस्था हेरेर हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारीसमेत भइरहेको जनाइएको छ।
भीषण बाढीपछि त्रिशूली–३ ‘ए’ आयोजनाको सुरूङमा केही व्यक्ति फसेको आशंकामा लगातार खोज तथा उद्धार कार्य सञ्चालन हुँदै आएको थियो।
दुई जनाको जीवितै उद्धार भएसँगै सुरूङभित्र अझै कोही फसेका छन् कि छैनन् भन्नेबारे उद्धार टोलीले खोजी जारी राखेको छ।
