पर्यटकको रोजाइमा पर्दै सर्लाहीको नाढीमन ताल
सर्लाही — लामो समय ओझेलमा परेको सर्लाहीको नाढीमन तालमा पछिल्लो समय पर्यटकीय चहलपहल बढ्न थालेको छ। धार्मिक, ऐतिहासिक तथा प्राकृतिक विशेषता बोकेको तालमा आन्तरिक पर्यटकको आवागमन बढेसँगै यस क्षेत्रलाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने सम्भावना पनि देखिन थालेको छ।
चन्द्रनगर गाउँपालिका–६ र ७ मा फैलिएको नाढीमन ताललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसअघि देशका १०० प्रमुख पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरेको थियो। तर उचित संरक्षण, व्यवस्थापन र प्रचारप्रसारको अभावमा लामो समयसम्म ताल पर्यटकको नजरबाट ओझेलमा परेको थियो।
करिब ५२ बिघा क्षेत्रफलमा फैलिएको तालमध्ये अहिले करिब ३५ बिघा क्षेत्रमा पानी रहेको बताइएको छ। तालको वरपरको क्षेत्रमा मिथिला कलाघर र चिल्ड्रेन पार्क निर्माण भएपछि पर्यटकका लागि थप आकर्षण सिर्जना भएको छ।
ताल परिसरमा रहेको श्री मरीचि मानेश्वर महादेव मन्दिर, धर्मशाला तथा अन्य संरचनाले यस क्षेत्रको धार्मिक र सांस्कृतिक महत्त्वसमेत बढाएको छ। प्राकृतिक सौन्दर्यसँगै धार्मिक पर्यटनलाई जोड्न सकिने भएकाले नाढीमन ताललाई बहुआयामिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने स्थानीयको विश्वास छ।
ताल संरक्षण र पर्यटकमैत्री पूर्वाधार विस्तारका लागि गाउँपालिकाले समेत योजना अघि बढाएको छ। तालको चारैतिर सडकसहितको ड्याम निर्माण, वृक्षरोपण तथा वातावरणमैत्री संरचना विकास गर्ने तयारी भइरहेको गाउँपालिका अध्यक्ष राजकुमार महतोले बताए।
तालको अतिक्रमण नियन्त्रण गर्दै बाँकी क्षेत्रको संरक्षण र व्यवस्थित विकास गर्न सके नाढीमनमा पर्यटकको आकर्षण अझ बढ्ने स्थानीयको अपेक्षा छ। विशेषगरी मधेसका जिल्लाबाट छोटो दूरीमा घुमफिर गर्न चाहने आन्तरिक पर्यटकका लागि यो क्षेत्र उपयुक्त गन्तव्य बन्न सक्ने देखिन्छ।
प्राकृतिक सौन्दर्य, धार्मिक सम्पदा र मिथिला संस्कृतिलाई एउटै गन्तव्यमा जोड्न सकिने भएकाले नाढीमन तालको व्यवस्थित विकासले स्थानीय पर्यटन व्यवसायसँगै रोजगारी र आयआर्जनका अवसरसमेत विस्तार गर्न सक्ने सम्भावना छ।
