पर्यटनको भरपर्दो साधनदेखि विपद्को उद्धारकर्ता बने हेलिकप्टर
काठमाडौं — हिमाली तथा दुर्गम क्षेत्रमा पर्यटक ओसार्ने साधनका रूपमा चिनिएका हेलिकप्टर पछिल्लो विपद्मा हजारौँ नेपाली र विदेशी नागरिकका लागि जीवनरक्षक बने। भोटेकोशी बाढीपछि सडक र पुलको सम्पर्क टुट्दा दुर्गम बस्तीमा पुग्ने एकमात्र प्रभावकारी माध्यम बनेको हेलिकप्टरले उद्धारसँगै राहत पुर्याउने कामसमेत निरन्तर गरिरहेको छ।
१० भदौमा आएको विनाशकारी बाढीले रसुवागढीदेखि मुग्लिनसम्मको सडक सञ्जालमा ठूलो क्षति पुर्याएपछि यसको प्रभाव सबैभन्दा बढी देखियो। उक्त क्षेत्रमा ४१ वटा पुलमा क्षति पुगेको र ३५ वटा पुल बगेका छन्। त्यस्तै ६४ झोलुंगे पुलमध्ये ५३ वटा बगाउँदा रसुवा, नुवाकोटका अधिकांश क्षेत्र तथा धादिङका केही भूभाग सडक सम्पर्कबाट अलग भए।
स्थलमार्ग अवरुद्ध भएपछि विपद्मा फसेका नागरिकसम्म पुग्ने जिम्मेवारी हेलिकप्टरले सम्हाल्यो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिलेसम्म १३ हजार ९५ जनाको हवाई तथा अन्य माध्यमबाट उद्धार भइसकेको छ।
नेपाली सेनाको नेतृत्व र समन्वयमा भएको हवाई उद्धारमा मात्रै ४ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा ल्याइएको छ। सेनाको समन्वयमा ८ सयभन्दा बढी उडान भइसकेका छन् भने निजी हेलिकप्टर कम्पनीले पनि उद्धार तथा राहतका लागि उडान गरिरहेका छन्।
उद्धार गरिएकामध्ये विदेशी पर्यटकको संख्या पनि उल्लेख्य छ। नेपाली सेनाले हवाई उद्धार गरेका ४ हजारभन्दा बढीमध्ये २ सय ७३ जना विदेशी नागरिक रहेको तथ्यांकले विपद्का बेला पर्यटन क्षेत्रमा हेलिकप्टरको महत्त्वसमेत देखाएको छ।
पर्यटनबाट उद्धारसम्म
नेपालमा हेलिकप्टर सेवा मुख्यतः पर्यटनसँग जोडिएको व्यवसाय हो। हिमाली पदयात्रा, पर्वतारोहण, दुर्गम गन्तव्यमा पर्यटक ओसार्ने तथा आपत्कालीन उद्धारमा यसको प्रयोग हुँदै आएको छ।
विशेषगरी लुक्ला, सगरमाथा क्षेत्र, मनाङ, मुस्ताङ तथा अन्य हिमाली क्षेत्रमा मौसम र भूगोलका कारण हेलिकप्टर पर्यटनको महत्वपूर्ण आधार बनेको छ। यही अनुभव अहिले विपद्का बेला उद्धारमा उपयोगी साबित भएको व्यवसायीहरू बताउँछन्।
वायुसेवा सञ्चालक संघका अध्यक्ष तथा कैलाश हेलिकप्टरका प्रबन्ध निर्देशक प्रतापजंग पाण्डेका अनुसार पर्यटन क्षेत्रमा काम गर्ने नेपाली पाइलटहरू दुर्गम भूगोल र बदलिँदो मौसममा उडान गर्न अभ्यस्त भएकाले विपद्का बेला पनि उनीहरूको अनुभव उपयोगी भएको छ।
मनसुनमा सामान्यतः पर्यटन व्यवसाय सुस्त हुने भए पनि कैलाश–मानसरोवर यात्रामा आउने भारतीय तथा गैरआवासीय भारतीय पर्यटकका कारण हेलिकप्टर कम्पनीले यस अवधिमा पनि उडान गर्दै आएका थिए। बाढीपछि भने कम्पनीका हेलिकप्टर पर्यटक सेवाबाट उद्धार तथा राहततर्फ केन्द्रित भएका छन्।
दर्जनौँ उद्धार उडान
बाढीपछिका दिनमा काठमाडौंका विभिन्न हेलिप्याडबाट प्रभावित क्षेत्रतर्फ लगातार उडान भए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तथ्यांकअनुसार १० भदौमा मात्रै प्रभावित क्षेत्रमा ४९ उडान भएका थिए।
त्यस दिन टिमुरे, त्रिशूली, रसुवा, धुन्चे, मैलुङ, धादिङ र स्याफ्रुबेँसीलगायत क्षेत्रमा हेलिकप्टर पुगेका थिए। त्यसपछि पनि दैनिक दर्जनौँ उडान जारी रहे।
नेपाली सेनाले त्रिभुवन विमानस्थलसँगै नुवाकोटको बट्टारमा हेलिबेस स्थापना गरेर उद्धार अभियान सञ्चालन गरेको थियो। दुर्गम क्षेत्रमा उद्धार र राहत सामग्री पुर्याउन यी बेस महत्वपूर्ण बने।
जोखिमबीच उडान
विपद्का बेला हेलिकप्टर सञ्चालन भने सहज थिएन। सडक र सञ्चार संरचना क्षतिग्रस्त भएका क्षेत्रमा एकैपटक धेरै हेलिकप्टर परिचालन गर्नुपर्दा हवाई चाप व्यवस्थापन चुनौतीपूर्ण बनेको थियो।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यस्तो अवस्थामा ‘क्लास जी अपरेसन’ अन्तर्गत पाइलट–पाइलटबीच समन्वय गरेर उडान सञ्चालन गरिएको थियो। एकै क्षेत्रमा धेरै हेलिकप्टर उड्दा प्रत्येक पाइलटले अर्को हेलिकप्टरको अवस्थाबारे जानकारी राखेर उडान गर्नुपर्ने अवस्था थियो।
उद्धार क्षेत्रको दृश्य खिच्न सञ्चारमाध्यम तथा अन्य पक्षबाट ड्रोनसमेत उडाइएकाले हेलिकप्टर उडानमा थप चुनौती थपिएको थियो। उडान सुरक्षालाई ध्यानमा राख्दै प्राधिकरणले आवश्यकताअनुसार ‘नोटाम’ जारी गरेको थियो।
३२ हेलिकप्टर, ४५ पाइलट
वायुसेवा सञ्चालक संघका अनुसार नेपालमा करिब एक दर्जन हेलिकप्टर कम्पनी सञ्चालनमा छन्। ती कम्पनीसँग करिब ३२ वटा हेलिकप्टर र ४५ जना पाइलट उपलब्ध छन्।
सामान्य अवस्थामा यी हेलिकप्टरले पर्यटन, पर्वतारोहण, चार्टर तथा उद्धार सेवा प्रदान गर्छन्। तर पछिल्लो विपद्ले नेपालको हेलिकप्टर उद्योगको अर्को महत्वपूर्ण पक्ष उजागर गरेको छ—पर्यटनका लागि विकास भएको हवाई क्षमता राष्ट्रिय विपद्का बेला तत्काल उद्धार संयन्त्रमा रूपान्तरण हुन सक्छ।
बाढीले स्थलमार्गको ठूलो हिस्सा तहसनहस पारेको अवस्थामा हेलिकप्टरले दुर्गम बस्ती र जोखिममा रहेका नागरिकसम्म राज्यको पहुँच पुर्याएको छ। यसले नेपालको पर्यटन पूर्वाधारका रूपमा विकसित हुँदै आएको हेलिकप्टर सेवा विपद् व्यवस्थापनका लागि पनि रणनीतिक सम्पत्ति बन्न सक्ने देखाएको छ।
