बाढीपछि पर्यटन क्षेत्र उठाउन सरकारको तयारी, वैकल्पिक मार्गदेखि अन्तर्राष्ट्रिय प्रचारसम्म
काठमाडौं — भोटेकोशी र त्रिशूलीमा आएको विनाशकारी बाढीले पर्यटन पूर्वाधारमा ठूलो असर पुर्याएपछि प्रभावित गन्तव्यलाई पुनः पर्यटकमैत्री बनाउने तयारी थालिएको छ। सरकारले क्षतिको वास्तविक विवरण संकलनसँगै पदयात्रा मार्ग र सडकको विकल्प खोज्ने तथा अन्तर्राष्ट्रियस्तरमा नेपालको पर्यटन सुरक्षित रहेको सन्देश प्रवाह गर्ने योजना अघि सारेको छ।
बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखाका होटल, रेस्टुरेन्ट तथा अन्य पर्यटन व्यवसाय प्रभावित भएका छन्। पर्यटन क्षेत्रको क्षति यकिन गर्न प्रभावित जिल्लाका पर्यटन सेवा प्रदायकबाट अनलाइनमार्फत विवरण संकलन गरिने भएको छ।
क्षतिको तथ्यांकका आधारमा प्रभावित क्षेत्रलाई लक्षित गरी ‘टुरिज्म रिकभरी साइकल’ तयार गर्ने तयारी छ। यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग र नेपाल पर्यटन बोर्डबीच समन्वय गरिने भएको छ।
पर्यटकका लागि बाटो खुलाउने प्राथमिकता
बाढीका कारण सडक तथा पदयात्रा मार्गमा अवरोध आएपछि पर्यटकको आवागमन सहज बनाउन वैकल्पिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको छ।
लाङटाङ क्षेत्रमा चालु पर्यटन सिजनमै पदयात्रा सञ्चालन गर्न आवश्यक स्थानमा बेलिब्रिज निर्माणका लागि सरकारसँग पहल गरिने भएको छ। रसुवाको धुन्चेसम्म पुग्ने वैकल्पिक सडकमार्गको नक्सासमेत तयार गर्ने निर्णय भएको छ।
कैलाश–मानसरोवर यात्रामा पर्न सक्ने असरलाई कम गर्न नेपाल–चीन सीमामा वैकल्पिक नाका सञ्चालनका लागि कूटनीतिक पहल गर्नसमेत सरकारलाई आग्रह गरिने भएको छ।
‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश
बाढीबाट प्रभावित केही क्षेत्रमा क्षति भए पनि देशका अन्य प्रमुख पर्यटकीय गन्तव्य सामान्य अवस्थामा सञ्चालनमा रहेको जानकारी पर्यटकसम्म पुर्याउने तयारी गरिएको छ।
पर्यटकलाई सडकको अवस्थाबारे अद्यावधिक र विश्वसनीय सूचना उपलब्ध गराउन नेपाल प्रहरीको ट्राफिक कार्यालय तथा पर्यटक प्रहरीबाट विवरण लिएर पर्यटन बोर्डका सामाजिक सञ्जालमार्फत नियमित जानकारी सार्वजनिक गरिने भएको छ।
पर्यटन क्षेत्रका सरोकारवालाले विपद्का कारण समग्र नेपालको पर्यटन प्रभावित भएको गलत सन्देश अन्तर्राष्ट्रिय बजारमा जान नदिन वास्तविक अवस्थाबारे स्पष्ट सूचना प्रवाह गर्नुपर्नेमा जोड दिएका छन्।
अन्तर्राष्ट्रिय बजारमा पनि पहल
बाढीपछिको नेपालको पर्यटन अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायलाई सही सूचना दिन विश्व पर्यटन संगठन, पाटा लगायतका अन्तर्राष्ट्रिय पर्यटन संस्थासँग समन्वय गरिने भएको छ।
नेपालमा कार्यरत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिसँग संवाद गरी प्रभावित क्षेत्रको वास्तविक अवस्था र अन्य गन्तव्यमा पर्यटन सेवा नियमित रहेको जानकारी प्रवाह गर्ने तयारीसमेत गरिएको छ।
पर्यटन व्यवसायीका विभिन्न संघसंस्थाको सहभागितामा भएको बैठकले बाढीबाट तत्काल प्रभावित व्यवसायको क्षति विवरण संकलनदेखि दीर्घकालीन पर्यटन पुनरुत्थानसम्मका विषयमा संयुक्त पहल अघि बढाउने निष्कर्ष निकालेको हो।
बाढीले सडक, पुल, होटल र पदयात्रा पूर्वाधारमा असर पुर्याए पनि वैकल्पिक मार्ग निर्माण, पर्यटकलाई सही सूचना र अन्तर्राष्ट्रिय बजारमा सकारात्मक सन्देश प्रवाह गर्न सके प्रभावित गन्तव्यलाई पुनः पर्यटनको लयमा फर्काउन सकिने अपेक्षा गरिएको छ।
