मुस्ताङमा स्याउ टिप्ने सिजन सुरु, सबै प्रजातिका लागि खुल्यो अनुमति
मुस्ताङ । मुस्ताङका स्याउ बगैँचा यतिबेला चहलपहलपूर्ण बनेका छन्। जिल्लामा उत्पादन हुने सबै प्रजातिका स्याउ टिप्न सोमबारदेखि अनुमति दिइएको छ।
जिल्लास्तरीय निर्णयअनुसार ढिलो पाक्ने स्याउको टिपाइका लागि पनि सोमबारदेखि बाटो खुलेको हो। यसअघि छिटो पाक्ने प्रजातिका स्याउ भने भदौ १५ गतेदेखि टिप्न अनुमति दिइएको थियो।
मुस्ताङमा गाला, फुजी र साउने स्याउ छिटो पाक्ने प्रजातिमा पर्छन्। यीबाहेकका अन्य प्रजाति तुलनात्मक रूपमा ढिलो पाक्ने भएकाले तिनको टिपाइका लागि छुट्टै समय तोकिएको थियो।
स्याउको गुणस्तर कायम राख्ने, फलमा पर्याप्त गुलियोपना विकास गर्ने र मुस्ताङी स्याउको बजारमा रहेको ब्रान्ड मूल्य जोगाउने उद्देश्यले जिल्लाले हरेक वर्ष टिपाइको समय निर्धारण गर्दै आएको छ।
जिल्ला समन्वय समितिको अगुवाइमा सरोकारवाला सरकारी कार्यालय र अगुवा कृषक सहभागी बैठकले स्याउ टिप्ने कार्यतालिका तय गरेको हो। समिति प्रमुख माया गुरुङले सोमबारदेखि मुस्ताङमा उत्पादित सबै प्रजातिका स्याउ टिप्न खुला गरिएको जानकारी दिइन्।
अनुमति खुलेसँगै जिल्लाका विभिन्न स्थानमा किसानले बगैँचाबाट स्याउ टिप्न थालेका छन्। स्याउ खरिदका लागि जिल्लाभित्रका साथै बाहिरी जिल्लाका व्यापारी पनि बगैँचामै पुग्न थालेका छन्।
धादिङबाट एक साताअघि मुस्ताङ पुगेका स्याउ व्यापारी उर्चा तामाङ पनि खरिदका लागि सक्रिय छन्। करिब तीन दशकदेखि स्याउको व्यापार गर्दै आएका उनले यस वर्ष मुस्ताङबाट झन्डै एक करोड रुपैयाँ बराबरको स्याउ बजार पठाउने तयारी गरेको बताए।
तर, चीनबाट कोरला नाका हुँदै स्याउ आयात हुन सक्ने सूचनाले स्थानीय व्यापारीमा बजार व्यवस्थापनबारे चिन्ता पनि थपिएको उनको भनाइ छ।
गत वर्ष एक अर्बभन्दा बढीको उत्पादन
मुस्ताङमा गत वर्ष करिब एक अर्ब १० करोड २३ लाख ७० हजार रुपैयाँ बराबरको स्याउ उत्पादन भएको थियो। उत्पादित स्याउमध्ये करिब ९० प्रतिशत जिल्ला बाहिर बिक्रीका लागि पठाइएको थियो। त्यसबाट करिब ९९ करोड रुपैयाँ जिल्लामा भित्रिएको तथ्यांक छ।
कृषि तथा पशु विकास कार्यालयका अनुसार जिल्लाका पाँचवटै स्थानीय तहमा गरी ८९९.१६ हेक्टर क्षेत्रफलमा स्याउ खेती हुँदै आएको छ। त्यसमध्ये ८३७ हेक्टरमा स्थानीय जात र ६२ हेक्टरमा उच्चघनत्व (हाइब्रिड) प्रविधिबाट स्याउ खेती गरिएको छ।
कार्यालय प्रमुख डा. लालमणि अर्यालका अनुसार कुल स्याउ खेती भएको क्षेत्रफलमध्ये ६२७ हेक्टरमा रहेका बोटले उत्पादन दिइरहेका छन्। उत्पादनशील क्षेत्रमध्ये ५७२ हेक्टरमा स्थानीय जात र ५५ हेक्टरमा उच्चघनत्व प्रविधिबाट लगाइएका स्याउका बोट रहेका छन्।
