एसपीलाई धम्की दिएको आरोपमा नेकपा नेता अशोक यादव पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय सर्लाहीका तत्कालीन प्रहरी प्रमुख (एसपी) योगेन्द्रकुमार खड्कालाई धम्की दिएको आरोपमा नेकपा नेता अशोक यादव पक्राउ परेका छन्।
मधेश प्रदेश प्रहरी कार्यालयका डीआईजी ओम अधिकारीले यादव पक्राउ परेको पुष्टि गरेका छन्। उनका अनुसार यादवलाई एसपी खड्कालाई टेलिफोनमार्फत धम्की दिएको पुरानो घटनामा पक्राउ गरिएको हो।
घटना २०८२ साल असारको हो। त्यतिबेला यादवले एसपी खड्कालाई फोन गरेर अपशब्द प्रयोग गर्नुका साथै ‘तराईमा लुट्न आएको लुटेरा’ भन्दै धम्की दिएको आरोप लागेको थियो। उक्त फोन संवादको अडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना चर्चामा आएको थियो।
अडिओ सार्वजनिक भएपछि प्रहरीले यादवको खोजी थालेको थियो। त्यस क्रममा उनी फरार रहेको प्रहरीले जनाएको थियो। लामो समयपछि प्रहरीले यादवलाई पक्राउ गरेको हो।
धम्की दिएको समयमा यादव जनता समाजवादी पार्टी (जसपा) मा आबद्ध थिए। पछिल्लो समय भने उनी नेकपामा प्रवेश गरिसकेका छन्।
