असोज ७ देखि पोखरा–दुबई नियमित उडान, अन्तर्राष्ट्रिय सञ्जालमा जोडिँदै पर्यटकीय राजधानी
पोखरा । लामो समयको प्रतीक्षापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुने भएको छ । फ्लाइ दुबईले आगामी असोज ७ गतेदेखि पोखरा–दुबई–पोखरा उडान सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको छ ।
तालिकाअनुसार फ्लाइ दुबईको जहाज असोज ७ गते साँझ ६ः१५ बजे पोखरा विमानस्थलमा अवतरण गर्नेछ भने यात्रु तथा कार्गोसहित साँझ ७ः१५ बजे दुबईका लागि प्रस्थान गर्नेछ । कम्पनीले दैनिक एक उडान गर्ने तयारी गरेको छ ।
पहिलो उडानलाई पोखरा विमानस्थलमा पानीको फोहरासहित विशेष स्वागत गर्ने तयारी गरिएको विमानस्थलले जनाएको छ ।
विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतका अनुसार फ्लाइ दुबईले आवश्यकताअनुसार एयरबस ३१९ र ३२० प्रयोग गर्नेछ । एयरबस ३१९ मा करिब १४० देखि १५० तथा एयरबस ३२० मा १६० देखि १८० यात्रु अट्ने क्षमता छ । पहिलो उडानबाट पोखरा आउने यात्रुको संख्या उल्लेख्य हुने अपेक्षा गरिएको छ भने फर्कने क्रममा यात्रुसँगै कार्गोसमेत लैजाने तयारी छ ।
पोखरा–दुबई नियमित उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठ २५ गते फ्लाइ दुबईलाई अनुमति दिएको थियो । सरकारको नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी आकर्षित गर्न कूटनीतिक पहल गर्ने घोषणा भएको केही समयपछि कम्पनीले उडान अनुमति पाएको हो ।
दुबई हुँदै विश्वका सयौँ गन्तव्यमा पहुँच
दुबई विश्वकै प्रमुख हवाई ट्रान्जिट हब भएकाले पोखरा–दुबई सिधा उडानले गण्डकी प्रदेशलाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोड्ने अपेक्षा गरिएको छ । फ्लाइ दुबई र इमिरेट्सबीचको रणनीतिक कोडसेयर साझेदारीका कारण पोखराबाट दुबई हुँदै युरोप, अमेरिका, अस्ट्रेलियालगायतका गन्तव्यमा यात्रा गर्ने यात्रुलाई थप सहज हुने जनाइएको छ ।
फ्लाइ दुबईका नेपालस्थित महाप्रबन्धक नवराज शाहीका अनुसार काठमाडौँको तुलनामा पोखराबाट दुबई जाने टिकट करिब पाँच हजार रुपैयाँसम्म सस्तो पर्न सक्छ । कम्पनीले विश्वका १२० भन्दा बढी गन्तव्यमा सेवा दिँदै आएको र पोखरा उडान प्रवर्द्धनका क्रममा यात्रु तथा साझेदार संस्थालाई विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने जनाएको छ ।
कम्पनीले सुरुमा एक महिनाका लागि दैनिक एक उडान गर्ने घोषणा गरे पनि सन् २०२७ मार्च २६ सम्मको बुकिङ खुला गरिसकेको छ ।
पर्यटन व्यवसायी उत्साहित
पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुन लागेपछि पर्यटन व्यवसायी उत्साहित छन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले उडानलाई सफल र दीगो बनाउन पोखराका पर्यटन व्यवसायी एकताबद्ध भएर काम गर्ने बताए ।
नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले पनि पोखरालाई विश्वास गरेर फ्लाइ दुबईले सुरु गर्न लागेको सेवा सफल बनाउनु सबै सरोकारवालाको साझा दायित्व भएको बताए । उनका अनुसार नयाँ उडानलाई दीगो बनाउन सम्भावित चुनौतीलाई अवसरमा बदल्ने गरी सरकार, निजी क्षेत्र र पर्यटन व्यवसायीले संयुक्त प्रयास गर्नुपर्नेछ ।
यसैबीच, पोखरा महानगरपालिका र फ्लाइ दुबईबीच पर्यटन प्रवर्द्धन, गन्तव्यको बजारीकरण तथा अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारलगायत क्षेत्रमा सहकार्य गर्ने समझदारीसमेत भएको छ ।
पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन केन्द्र बनाउने अपेक्षा
पोखरा–दुबई उडानले गण्डकी प्रदेशको पर्यटनसँगै व्यापार र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । दुबईलाई ट्रान्जिट हब बनाएर पोखराबाट लण्डन, न्युयोर्क, टोकियोलगायत विश्वका २५० भन्दा बढी गन्तव्यमा पुग्न सहज हुने बताइएको छ ।
यसबाट वैदेशिक रोजगारी, अध्ययन तथा भ्रमणका लागि खाडी मुलुक र अन्य देश जाने यात्रुलाई पनि सुविधा पुग्नेछ । त्यस्तै, अन्तर्राष्ट्रिय पर्यटकलाई पोखरा सीधै आउने बाटो खुल्ने भएकाले पोखरा, अन्नपूर्ण क्षेत्र तथा गण्डकीका अन्य पर्यटकीय गन्तव्यले लाभ लिन सक्ने अपेक्षा गरिएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको तीन वर्ष बितिसक्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन । सन् २०२५ मार्चमा हिमालय एयरलाइन्सले पोखरा–ल्हासा नियमित व्यावसायिक उडान सुरु गरे पनि यात्रु अभावका कारण अहिले उक्त सेवा स्थगित छ ।
त्यसैले फ्लाइ दुबईको सेवा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुन लागेको दोस्रो नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुनेछ । यसअघि चीन, भारत र भुटानका विभिन्न गन्तव्यमा चार्टर उडान भने हुँदै आएका छन् ।
नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रहेको पोखरा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुन थालेसँगै काठमाडौँमा केन्द्रित हवाई चाप विकेन्द्रीकरण हुनुका साथै पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न थप मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
