मेलाबाट उठेको रकम पर्यटन विकासमा लगानी
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ मा रहेको मणिबराही युवा क्लबले मेला सञ्चालन गरेर बचत भएको रु २० लाखभन्दा बढी रकम पर्यटन विकासमा परिचालन गरेको छ ।
विसं २०८१ र २०८२ मा क्लबले दसैँ पर्वको अवसरमा आयोजना गरेको मेलाबाट भएको आम्दानी पर्यटन पूर्वाधार निर्माणमा लगानी गरेको हो । क्लबका सचिव विकास पुनले पछिल्लो दुई वर्षमा क्लबमार्फत दोवाको पर्यटन, भौतिक पूर्वाधार, सामाजिक कामका लागि रु २० लाख सात हजार ७१० खर्च भएको जानकारी दिए ।
“दोवादेखि धौलागिरि आइसफल जोड्ने पदमार्गको पूर्वाधार निर्माण र प्रवर्द्धनका लागि क्लबले दुई वर्षमा सबैभन्दा बढी रु सात लाख ५८ हजार २५० खर्च गरेका छौँ”, उनले भने “क्लबसँग हाल रु पाँच लाख ४९ हजार ९३७ बचत रहेको छ ।”
२०८१ मा रु १५ लाख १९ हजार आम्दानी भएकोमा रु १२ लाख २२ हजार २५० र २०८२ मा रु १० लाख ३८ हजार ६४७ आम्दानी भएकोमा रु सात लाख ८५ हजार ४६० खर्च भएको छ ।
पर्यटकीयस्थल सुर्केमेलामा रु तीन लाख ८१ हजार खर्चेर खानेपानीको व्यवस्था मिलाएको क्लबले दोवाको प्रवेशद्धार भीरकाटेस्थिल सडक पुलमा रु एक लाख तीन हजार खर्चेर सूचनामूलक बोर्ड राखेको सचिव पुनले बताए।
रु दुई लाख ७४ हजार खर्चेर दोवाका विभिन्न पर्यटकीयस्थलमा राख्नका लागि ४१ वटा सूचना बोर्ड तयार पारिएको छ । दोवा पोखरा समाजको भवन निर्माण तथा जग्गा खरिदका लागि रु सात लाख सहयोग गरेको क्लबले रु चार लाख १९ हजार खर्चेर आफ्नै भवन मर्मत गरेको अध्यक्ष ठबहादुर गर्बुजाले बताए । यस वर्ष क्लबको नाममा जग्गा खरिदको अन्तिम चरणमा रहेको छ ।
दोवादेखि पातलखर्क, गरेकखर्क, देउरालीडाडा, ठूलोखानी, धैरासिर, गुराँसिनीखोला, भिराउटो, सुर्केमेला र हल्टुडे क्षेत्रमा पदमार्ग निर्माणका लागि गत आर्थिक वर्ष २०८२-८३ मा सञ्चालित योजनामा क्लबले योगदान गरेको छ ।
अन्नपूर्ण गाउँपालिकाले रु १० लाख बजेट विनियोजन गरेको यस योजनाका लागि क्लबले रु चार लाख २५ हजार ७६५ सहयोग गरेको र रु एक लाख २४ हजार बराबरको श्रमदान भएको सचिव पुनले बताए ।
“दोवामा पर्यटक भित्र्याउने र बसाइ लम्बाइ ग्रामीण क्षेत्रमा आर्थिक गतिविधि बढाउने तथा रोजगारी सिर्जना गर्ने उद्देश्यले पर्यटकीय पूर्वाधार निर्माणमा जुटेका हौँ”, उनले भने, “सोवाङ धुरी र धौलागिरि आइसफललाई दोवासँग जोड्ने उद्देश्यले थालिएको पदमार्ग निर्माण कार्यलाई निरन्तता दिन आवश्यक छ ।”
