भोटेकोशी बाढीपीडित परिवारलाई विद्युत् प्राधिकरणको आर्थिक सहयोग, ६ महिनासम्म आधा तलब
electricity authority
electricity authority
electricity authority
काठमाडौं— रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता नेपाल विद्युत् प्राधिकरणका कर्मचारी तथा कामदारका परिवारलाई प्राधिकरणले आर्थिक राहत उपलब्ध गराउने भएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समिति बैठकले बेपत्ताका परिवारलाई राहत तथा निर्वाह खर्च उपलब्ध गराउने निर्णय गरेको हो।
बाढीका कारण रसुवामा सञ्चालित १३ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ। प्राधिकरणका अनुसार आफ्नै मातहतका ४७ जना कर्मचारी तथा कामदारसमेत बेपत्ता छन्।
प्राधिकरण सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार बेपत्ता कर्मचारी तथा कामदारका नजिकका हकवालालाई तत्काल ५० हजार रुपैयाँ राहत दिइनेछ। यो सुविधा स्थायी कर्मचारीसँगै ज्यालादारी र सेवा करारमा कार्यरत कामदारका परिवारले पनि पाउनेछन्।
त्यसैगरी, बेपत्ता स्थायी कर्मचारीका परिवारलाई बढीमा ६ महिनासम्म मासिक निर्वाह खर्च उपलब्ध गराउने निर्णय भएको छ। भदौ महिनादेखि लागू हुने गरी बेपत्ता कर्मचारीले पाउने सुरु तलब स्केलको ५० प्रतिशत रकम प्रत्येक महिना परिवारलाई दिइनेछ।
प्राधिकरणले क्षतिपूर्ति वा अन्य आर्थिक सहायता सम्बन्धमा थप निर्णय नगरेसम्म अथवा बढीमा ६ महिनासम्म यस्तो सुविधा निरन्तर रहने जनाएको छ।
बेपत्ताको खोजी, परिवारको सामाजिक तथा धार्मिक संस्कार र दैनिक जीवनयापनमा सहयोग पुगोस् भन्ने उद्देश्यले राहत रकम उपलब्ध गराउन लागिएको प्राधिकरणले जनाएको छ।
मन्त्री श्रेष्ठष्ठले विपद्मा बेपत्ता भएका कर्मचारी तथा कामदारका परिवारप्रति सरकार र प्राधिकरण जिम्मेवार रहेको बताए। उनले आर्थिक सहयोगले परिवारको पीडा पूर्ण रूपमा कम गर्न नसके पनि कठिन अवस्थामा केही राहत पुग्ने अपेक्षा व्यक्त गरे ।
electricity authority