दुई वाइडबडी थन्किएपछि नेवानिको उडान तालिका प्रभावित, नारिताका सबै उडान रद्द
काठमाडौँ — नेपाल वायुसेवा निगम (नेवानि) का दुवै वाइडबडी जहाज एकैपटक उडानबाट बाहिरिएपछि अन्तर्राष्ट्रिय उडान तालिका प्रभावित भएको छ। जापानको नारितासहित विभिन्न गन्तव्यका उडान ढिला हुनुका साथै केही उडानको मिति परिवर्तन गरिएको छ।
निगमका अनुसार एउटा वाइडबडी नारितामा प्राविधिक समस्याका कारण मर्मतमा छ भने अर्को नियमित ‘सिचेक’का लागि इटाली पठाइएको छ। दुवै जहाज उपलब्ध नभएपछि निगमले दुई न्यारोबडी जहाजबाट उडान व्यवस्थापन गरिरहेको छ।
नारिताका उडान नै रोकिए
नारितामा न्यारोबडी जहाजले उडान गर्न नसक्ने भएकाले त्यहाँको सेवा पूर्ण रूपमा प्रभावित भएको निगमले जनाएको छ। सेप्टेम्बर १७, १८ र २० का लागि निर्धारित काठमाडौं–नारिता उडान रद्द गरिएको छ।
नारितामा ग्राउन्डेड वाइडबडीको इन्जिन मर्मत भइरहेको छ। निगमका प्रवक्ता देवेन्द्र पुनका अनुसार इन्जिन निर्माता कम्पनीसँगको परामर्शमा मर्मत भइरहेको र ३–४ दिनभित्र जहाज सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
अर्को वाइडबडी कहिले फर्किन्छ?
अर्को वाइडबडी नियमित मर्मतका लागि अगस्टको पहिलो साता इटाली पठाइएको थियो। सेप्टेम्बरको पहिलो साता फर्कने तालिका रहे पनि थप मर्मत आवश्यक परेपछि फर्किन ढिलाइ भएको निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले बताएका छन्।
उनका अनुसार उक्त जहाज अर्को सातासम्म नेपाल फर्कने अपेक्षा गरिएको छ।
यी गन्तव्यको उडान तालिका पनि फेरियो
दुवै वाइडबडी उपलब्ध नभएपछि निगमले नारिताबाहेक अन्य अन्तर्राष्ट्रिय उडानलाई सकेसम्म रद्द नगरी तालिका परिवर्तन गरेर सञ्चालन गरिरहेको जनाएको छ।
- काठमाडौं–दोहा : एक दिन पछाडि सारिएको
- काठमाडौं–क्वालालम्पुर : १५ बाट १७ सेप्टेम्बरमा सारिएको
- काठमाडौं–दुबई : एक दिन पछाडि
- काठमाडौं–ग्वाङझाओ : एक दिन पछाडि
- काठमाडौं–नारिता : सेप्टेम्बर १७, १८ र २० का उडान रद्द
निगमका अनुसार जहाजको संख्या सीमित हुनु र दुवै वाइडबडी एकैपटक ग्राउन्डेड हुनुका कारण नियमित उडान व्यवस्थापनमा दबाब परेको हो। प्रभावित यात्रुलाई उडान रिसेड्युलिङको सुविधा दिइएको निगमले जनाएको छ।
