माइस पर्यटनमा नेपालको आकर्षण बढ्दै, श्रीलंकाबाट १३५ जनाको टोली नेपालमा
काठमाडौं । सभा, सम्मेलन, वार्षिक साधारणसभा तथा कर्पोरेट कार्यक्रमका लागि नेपाल आउने विदेशी पर्यटकको संख्या बढ्न थालेको छ । यही क्रममा श्रीलंकाका दुई पर्यटन व्यवसायी संस्थाले आफ्नो वार्षिक साधारणसभा आयोजना गर्न नेपाललाई गन्तव्य बनाएका छन् ।
दुई संस्थाको एजीएममा सहभागी हुन १३५ जना श्रीलंकाली पर्यटक बिहीबार काठमाडौं आइपुगेका छन् । ट्राभल एजेन्ट्स एसोसिएसन अफ श्रीलंका र अन्तर्राष्ट्रिय हवाई यातायात संघबाट मान्यता प्राप्त एजेन्ट्स एसोसिएसन अफ श्रीलंकाका प्रतिनिधि तथा सदस्यहरू एजीएमका लागि नेपाल आएका हुन् ।
नेपाल पर्यटन बोर्डले नेपालस्थित श्रीलंकाली दूतावास र श्रीलंकन एयरलाइन्सको सहकार्यमा काठमाडौंमा उनीहरूको स्वागत गरेको हो ।
पर्यटन व्यवसायसँग सम्बन्धित यी संस्थाले विगतमा विभिन्न देश तथा सहरमा वार्षिक साधारणसभा आयोजना गर्दै आएका थिए । यसपटक भने नेपाललाई रोजेका हुन् । प्रत्यक्ष हवाई सम्पर्क तथा दुई देशबीचको पर्यटन सम्बन्धका कारण नेपाल उनीहरूको रोजाइमा परेको पर्यटन बोर्डको भनाइ छ ।
यस अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बाढी तथा विपद्पछि पनि नेपाल पर्यटकका लागि सुरक्षित गन्तव्य रहेको सन्देश प्रवाह गरिएको थियो ।
कार्यक्रममा नेपालका लागि श्रीलंकाका राजदूत रुवान्थी डेलपिटिया तथा श्रीलंकन एयरलाइन्सका हेड अफ कमर्सियल दिमुथु टेन्नाकोनलगायत सहभागी थिए ।
श्रीलंकन एयरलाइन्सका बिक्री प्रबन्धक दीपक मैनालीले नेपाल सुरक्षित रहेको सन्देश अन्तर्राष्ट्रिय बजारमा पुर्याउन र नेपाल–श्रीलंका पर्यटन सम्बन्ध थप विस्तार गर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए ।
यसै दिन नेपाल पर्यटन बोर्डले बंगलादेशबाट आएको १८५ सदस्यीय कर्पोरेट टोलीलाई समेत काठमाडौंमा स्वागत गरेको थियो । एउटै दिन दक्षिण एसियाका दुई मुलुकबाट ठूला समूहमा पर्यटक भित्रिनुले नेपालमा कर्पोरेट तथा सम्मेलन पर्यटनको सम्भावना बढ्दै गएको संकेत गरेको छ ।
