फोक्सुन्डोमा तीनदिने कला प्रदर्शनी, १५ थाङ्का चित्रमार्फत डोल्पाको संस्कृति प्रस्तुत
काठमाडौं । डोल्पाको प्रसिद्ध फोक्सुन्डो क्षेत्रमा कला, संस्कृति र पर्यटनलाई जोड्ने उद्देश्यले तीनदिने कला प्रदर्शनी आयोजना गरिएको छ।
नेपाल पर्यटन बोर्डको ‘फोटोनेपाल’ अभियानअन्तर्गत असोज २ देखि ४ गतेसम्म समुदुप फाटेन गुम्बामा ‘फोक्सुन्डो आर्ट एक्जिबिसन’ सञ्चालन गरिएको हो। समुद्र सतहबाट करिब ३ हजार ६ सय ११ मिटर उचाइमा भएको प्रदर्शनीमा कलाकार तेन्जिङ वाङ्दाकका १५ थान थाङ्का चित्र राखिएका थिए।
प्रदर्शनीसँगै स्थानीय सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो। डोल्पाको प्राकृतिक सौन्दर्यसँगै त्यहाँको कला, संस्कृति, परम्परा र जीवनशैलीलाई पर्यटकीय कथासँग जोड्ने उद्देश्यले कार्यक्रम गरिएको आयोजकले जनाएको छ।
फोटोनेपालले नेपालका विभिन्न ठाउँमा रहेका प्राकृतिक तथा सांस्कृतिक कथालाई दृश्य माध्यमबाट प्रस्तुत गर्दै आएको छ। यस क्रममा फोटोग्राफीसँगै चित्रकला र अन्य दृश्य कलालाई समेत अभियानमा समेट्दै कलाकार, स्थानीय समुदाय र पर्यटकबीच सम्बन्ध स्थापित गर्ने प्रयास भइरहेको बोर्डले जनाएको छ।
फोटोनेपाल अभियानका नेतृत्वकर्ता तथा पर्यटन बोर्डका वरिष्ठ अधिकृत सुधन सुवेदीका अनुसार कला प्रदर्शनीका लागि सहरका ग्यालरी मात्र आवश्यक छैनन्। हिमाली गाउँ, गुम्बा तथा स्थानीय समुदायसँग पर्यटकको भेट हुने स्थल पनि कला प्रस्तुतिका प्रभावकारी स्थान बन्न सक्छन्।
उनका अनुसार यस्ता कार्यक्रमले कुनै गन्तव्यलाई प्राकृतिक दृश्यका रूपमा मात्र नभई त्यहाँको संस्कृति, परम्परा, सिर्जनशीलता र स्थानीय जीवनसँग जोडेर बुझ्ने अवसर प्रदान गर्छ।
पर्यटन बोर्डले सन् २०१६ देखि फोटोनेपाल अभियान सञ्चालन गर्दै आएको छ। नेपालको प्राकृतिक तथा सांस्कृतिक सम्पदा, जनजीवन र पर्यटकीय गन्तव्यलाई फोटोग्राफी तथा दृश्य कलामार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियानका रूपमा यसलाई अघि बढाइएको छ।
अभियानअन्तर्गत नेपालका विभिन्न गन्तव्य तथा स्वदेश र विदेशमा सयभन्दा बढी फोटो तथा कला प्रदर्शनी आयोजना भइसकेका छन्।
फोक्सुन्डो आर्ट एक्जिबिसन पर्यटन बोर्ड, फार ग्यालरी, तेर्च्हु निर्माण सेवा, बज्र प्रिन्ट्स तथा एक्स्प्लोर र एक्स्पिडिसन डोल्पोलगायत संस्थाको सहकार्यमा आयोजना गरिएको हो।
