गरिबी र कमजोर शिक्षाका कारण बालबालिका बेचबिखनको जोखिम बढ्दो
काठमाडौं — गरिबी, न्यून शैक्षिक अवस्था, असुरक्षित बसाइँसराइ र झूटा आश्वासन बालबालिका बेचबिखन तथा बाध्यकारी श्रमको जोखिम बढाउने प्रमुख कारणका रूपमा देखिएका छन्। जोखिममा रहेका परिवारमा सामाजिक सुरक्षा कमजोर हुँदा बालबालिका शोषण हुने काममा पुग्ने गरेको एक अध्ययनले देखाएको छ।
द एसिया फाउन्डेसनको नेतृत्वमा सोसल साइन्स वहा: , शक्ति समूह र न्यु एराको सहकार्यमा सन् २०२४ देखि २०२५ सम्म गरिएको अध्ययनले बालबालिका बेचबिखन तथा ओसारपसारको जोखिमसँग गरिबी र शिक्षाको अवस्थाबीच बलियो सम्बन्ध रहेको निष्कर्ष निकालेको हो। अध्ययनमा डा. सुवास रिसाल, डा. जीवन बानियाँ, ज्योति मानन्धर, उषा सिंह, आन्ड्रिया उपाध्याय र सचिन श्रेष्ठ सहभागी थिए ।
अध्ययनमा सहभागीमध्ये ८३.८ प्रतिशतले परिवारको आम्दानी आधारभूत आवश्यकता पूरा गर्न पर्याप्त नभएको बताएका छन् भने ८५.८ प्रतिशतले बाल्यकालमै आर्थिक कठिनाइ भोगेको बताएका छन्। शैक्षिक अवस्थातर्फ २४.१ प्रतिशतले कहिल्यै विद्यालय नगएको र २८.४ प्रतिशतले प्राथमिक तहसम्म मात्रै अध्ययन गरेको बताएका छन्।
अध्ययनले असुरक्षित बसाइँसराइसँगै झूटा आश्वासन र अनलाइन माध्यमबाट काममा लगाउने वा भर्ना गर्ने प्रक्रियाले पनि बालबालिका बेचबिखन तथा शोषणको जोखिम बढाएको देखाएको छ।
६५४ प्रभावितसँग अध्ययन
नेपालका १४ जिल्लामा गरिएको अध्ययनका क्रममा बाल्यकालमै बेचबिखनमा परेका हाल वयस्क ६५४ जना प्रभावितसँग व्यक्तिगत सर्वेक्षण गरिएको थियो।
त्यसमध्ये मनोरञ्जन क्षेत्रका २६५, सीमापार बेचबिखनका १६२ तथा बाध्यकारी बाल श्रमका २२७ जना थिए। बाध्यकारी बाल श्रमतर्फ इँटाभट्टाका १२१ र घरेलु कामका १०६ जना सहभागी थिए।
यसका अतिरिक्त तीनवटै क्षेत्रमा बेचबिखनबाट प्रभावित ८० जनासँग प्रत्यक्ष अन्तर्वार्ता गरिएको थियो। सात प्रदेशका १५ जिल्लामा सरकारी अधिकारी, सञ्चारकर्मी, कानून कार्यान्वयन निकाय, नागरिक समाज र रोजगारदाता संघका प्रतिनिधिसहित ८० जना सरोकारवालासँग पनि विस्तृत अन्तर्वार्ता गरिएको अध्ययनमा उल्लेख छ।
महिलाको संख्या बढी, पहाडी जनजाति सबैभन्दा धेरै
अध्ययनमा सबै क्षेत्रका प्रभावित तथा उत्तरदातामध्ये महिलाको संख्या बढी देखिएको छ। मनोरञ्जन क्षेत्र, घरेलु काम र सीमापार बेचबिखनमा महिलाको संख्या विशेष रूपमा बढी थियो भने इँटाभट्टामा पुरुषको संख्या बढी देखिएको छ।
जातीय समूहका आधारमा पहाडी जनजाति ४०.२ प्रतिशत थिए। पहाडी दलित १८.२ प्रतिशत र तराई जनजाति १३.२ प्रतिशत रहेको अध्ययनले देखाएको छ।
कार्यस्थलमा दुर्व्यवहार व्यापक
बाल्यकालमा बेचबिखनमा परेका व्यक्तिहरूले काम गर्ने क्रममा व्यापक दुर्व्यवहार र असुरक्षित अवस्थाको सामना गरेको बताएका छन्।
सीमापार बेचबिखनबाट प्रभावित ९३.५ प्रतिशतले कार्यस्थलमा दुर्व्यवहार भोगेको बताएका छन्। मनोरञ्जन क्षेत्रमा यस्तो अनुभव बताउनेको संख्या ८१.९ प्रतिशत र घरेलु काममा ६३.२ प्रतिशत थियो।
अध्ययनमा मौखिक दुर्व्यवहार सबैभन्दा बढी देखिएको छ। त्यसपछि शारीरिक, यौन तथा भावनात्मक दुर्व्यवहार, स्वास्थ्यसम्बन्धी लापरबाही र आर्थिक शोषणका घटना उल्लेख गरिएको छ। कतिपयले इच्छा विपरीत छुने, यौन सम्बन्धका लागि दबाब तथा बलात्कारजस्ता यौन हिंसा भोगेको बताएका छन्।
तर हिंसा र शोषण भोगे पनि धेरै प्रभावित औपचारिक सहायता खोज्न पुगेनन्। डर, लाज, बदला लिइने आशंका, परिवारले दोष लगाउने भय तथा कानूनी निकायप्रतिको अविश्वासले उनीहरूको सहायता खोज्ने निर्णय प्रभावित गरेको अध्ययनले देखाएको छ।
उद्धारपछि पनि पुनर्स्थापनाको अभाव
अध्ययनले बेचबिखनबाट उद्धार गरिएका बालबालिका तथा प्रभावितका लागि उद्धारपछिको पुनर्स्थापना र पुनःएकीकरणका सेवा पर्याप्त नभएको देखाएको छ।
केहीले कानूनी सहायता र मनोसामाजिक परामर्श पाए पनि मध्यम तथा दीर्घकालीन सहयोग पर्याप्त नभएको अध्ययनको निष्कर्ष छ। उद्धारपछि प्राप्त सीपमूलक तालिमले व्यवहारमा रोजगारी वा आम्दानीको अवसर नदिएको र आर्थिक कठिनाइका कारण कतिपय फेरि विदेश जान बाध्य भएको समेत अध्ययनमा उल्लेख छ।
परिवारको साथ, समाजको लाञ्छना
उद्धारपछि परिवारसँग पुनःसम्पर्क गरेका धेरै प्रभावितले अभिभावक तथा दाजुभाइ–दिदीबहिनीबाट माया र सहयोग पाएको बताएका छन्। तर केहीले लाज, परिवारले नराम्रो सोच्ने डर र सम्बन्ध गुम्ने आशंकाका कारण परिवारसँग पुनःसम्पर्क गर्न नचाहेको बताएका छन्।
समाजबाट अपमान, भेदभाव वा अस्वीकारको सामना गर्नुपरेको अनुभव पनि अध्ययनमा उल्लेख छ। मनोरञ्जन क्षेत्रका २७ प्रतिशत प्रभावितले आफ्नो विगत थाहा पाएपछि पनि परिवारले आफूलाई पूर्ण रूपमा स्वीकार गरेको बताएका छन्।
स्वास्थ्यमा दीर्घकालीन असर
बाल्यकालमा जोखिमपूर्ण काममा संलग्न भएकाहरूमा अत्यधिक थकान र कमजोरी, ढाड तथा जोर्नी दुख्ने, टाउको दुख्ने र माइग्रेनजस्ता समस्या देखिएको अध्ययनले जनाएको छ।
लामो समय रात्रिकालीन काम, असुरक्षित कार्य वातावरण, सरसफाइको कमी, पर्याप्त पोषण र आरामको अभाव तथा स्वास्थ्य उपचार नपाउँदा शारीरिक समस्या देखिएको प्रभावितहरूले बताएका छन्। कामका क्रममा चोटपटक तथा दीर्घकालीन रोगको समस्या पनि देखिएको छ।
रोकथामदेखि पुनर्स्थापनासम्मको एकीकृत योजना आवश्यक
अध्ययनले बाल बेचबिखन रोक्न युवाका लागि रोजगारी सिर्जना, न्यून आय भएका परिवारलाई सामाजिक सुरक्षा तथा बीमाको पहुँच, विद्यालय भर्ना र निःशुल्क शिक्षा सुनिश्चित गर्न सुझाव दिएको छ। समुदायमा बालश्रमका अल्पकालीन र दीर्घकालीन असरबारे जनचेतना बढाउनुपर्ने पनि अध्ययनको सुझाव छ।
त्यस्तै श्रम निरीक्षण र बाल हेल्पलाइनलाई प्रभावकारी बनाउने, जोखिममा रहेका बालबालिकाको पहिचान तथा उद्धार क्षमता बढाउने, उद्धारपछिका आश्रय र पुनर्स्थापना सेवामा स्रोतसाधन थप्ने तथा जिल्लास्तरमा मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउनुपर्ने सुझाव दिइएको छ।
अध्ययनले कानूनी सहायता, शीघ्र तथा आघात–सूचित न्यायिक प्रक्रिया, जोखिमपूर्ण काममा बालबालिका लगाउने व्यवसायमाथि कारबाही तथा तीनै तहका सरकारबीच उद्धार, पुनर्स्थापना र पुनःएकीकरणका लागि प्रभावकारी समन्वय आवश्यक रहेको औंल्याएको छ।
अन्ततः अध्ययनको सन्देश रोकथाम, संरक्षण, अभियोजन र पुनर्स्थापनालाई अलग–अलग कार्यक्रमका रूपमा होइन, जोखिममा रहेका परिवारदेखि बालबालिकाको शिक्षा, रोजगारी, उद्धार, न्याय र दीर्घकालीन पुनःएकीकरणसम्म जोडिएको समग्र प्रणालीका रूपमा अघि बढाउनुपर्नेमा केन्द्रित छ।
अध्ययनका उद्देश्य, विधि र मुख्य निष्कर्ष यस्ता छन्ः
उद्देश्य
१. व्यक्तिगत अनुभव, जोखिमका कारणहरू र शोषण हुने तरिकाको विश्लेषण गर्ने
तिनवटै क्षेत्रका बालबालिका बेचबिखन तथा ओसारपसारबाट प्रभावितहरुको व्यक्तिगत अनुभवहरु बुझ्ने, सामाजिक, आर्थिक र लैंगिक कुन-कुन कारणहरुले जोखिमलाई थप बढाईरहेको छ पत्ता लगाउने र प्रभावित तथा जोखिममा रहेका व्यक्तिहरुले आफ्ना अधिकार तथा उपलब्ध सहयोग सम्बन्धि जानकारी कसरी पाईरहेका छन भन्ने बारे बुझ्ने |
२. हाल संचालनमा रहेका सहयोग तथा कार्यक्रमहरु र कानूनी व्यबस्थाको प्रभावकारी मुल्यांकन गरी भविष्यका कार्यक्रम निर्माणमा सहयोग गर्ने |
बेचबिखनबाट प्रभावित व्यक्तिहरुले सहयोग प्राप्तिका लागि कस्ता संयन्त्रहरु प्रयोग गरे र ति संयन्त्रहरु कत्तिको प्रभावकारी रह्यो भन्ने बारे बुझ्ने, जोखिममा रहेका समुदायहरुको संरक्षणका लागि विद्यमान कानुन र नीतिहरू कत्तिको प्रभावकारी कार्यान्वयन भएका छन् र भविष्यमा प्रमाणमा आधारित कार्यक्रम तर्जुमा गर्न कुन-कुन सफल कार्यक्रमहरूले मार्गदर्शन गर्न सक्छन भन्ने बारे बुझ्ने |
अनुसन्धान विधि र नमुना संख्या
यो अध्ययन नेपालका विभिन्न १४ जिल्लाहरुमा गरिएको थियो | यस अध्ययनमा प्राथमिक तथ्याङ्क संकलनको लागि मिश्रित विधि (संख्यात्मक र गुणात्मक) अपनाईएको थियो |
- बाल्यकालमा तीनवटा क्षेत्रमा बेचबिखनमा परेका हाल वयस्क ६५४ जना प्रभावितहरुसंग १४ ओटा जिल्लाहरुमा (सुनसरी, मोरंग, झापा, रौतहट, मकवानपुर, काठमाडौं, ललितपुर, सिन्धुपाल्चोक, नुवाकोट, कास्की, कपिलबस्तु, बाँके, दाङ र कैलाली) व्यक्तिगत सर्वेक्षण गरिएको थियो | जसअन्तर्गत मनोरन्जन क्षेत्रबाट –२६५ जना, सिमापार बेचबिखनबाट-१६२ जना र बाध्यकारी बाल श्रमबाट-२२७ (ईट्टाभट्टा-१२१ र घरेलु काम-१०६) प्रभावितहरु रहेका थिए |
- तीनवटै क्षेत्रका बेचबिखनबाट प्रभावित ८० जनासंग प्रत्यक्ष अन्तर्वार्ता गरिएको थियो। जसअन्तर्गत मनोरन्जन क्षेत्रबाट-१७ जना, सिमापार बेचबिखनबाट -२० जना र बाध्यकारी बाल श्रम-४३ (ईट्टाभट्टा-१२, घरेलु कामबाट-१२ र गलैंचा, गार्मेन्ट तथा जरी उद्योगबाट-१९) प्रभावितहरु रहेका थिए |
- सात वटा प्रदेशको १५ वटा जिल्लामा अध्ययनसंग सम्बन्धित सरकारी अधिकारी, संचारकर्मी, कानुन कार्यान्वयन गर्ने निकायका अधिकारी, नागरिक समाज संस्था र रोजगारदाता संघ लगायतका ८० जना सरोकारवालाहरूसँग विस्तृत अन्तर्वार्ता गरिएको थियो |
- बालबालिका बेचबिखन तथा बाध्यकारी बाल-श्रमसम्बन्धी जोखिम र संवेदनशीलताका विषयमा समुदायस्तरको सामूहिक धारणा बुझ्न कुल ६ वटा समूह केन्द्रित छलफल गरिएको थियो | जसमा, ३ वटा जोखिममा रहेका समुदायका सदस्यहरुसंग (आप्रवासी परिवार, दैनिक ज्यालादारी मजदुर र सामाजिक-आर्थिक रूपमा सीमान्तकृत समुदायबाट) र ३ वटा समुदायका सदस्यहरु (शिक्षक, ब्यबसायी, सामुदायिक अगुवा र वडा प्रतिनिधि) संग छलफल गरिएको थियो |
- सेवाहरूको उपयोगिता र भविष्यमा तिनको महत्वबारे मूल्याङ्कन गर्न २६ जना प्रभावित व्यक्तिहरु, स्थानीय अगुवा, सामाजिक कार्यकर्ता, शिक्षक तथा स्वास्थ्यकर्मी लगायत ४९ जना समुदायका सदस्यहरु र ३२ जना राष्ट्रिय स्तरका सरोकारवाला तथा विज्ञहरूको सहभागितामूलक छलफल गरिएको थियो ।
- प्रमुख निचोडहरु (Findings)
- सबै क्षेत्रका प्रभावित/उत्तरदाताहरुमध्ये महिलाको संख्या धेरै थियो। त्यसमा पनि मनोरञ्जन क्षेत्र, घरेलु काम र सीमापार बेचबिखनमा महिलाको संख्या सबैभन्दा बढी थियो भने पुरुषहरू मुख्यतः इँटाभट्टा क्षेत्रमा थिए। प्रभावित/उत्तरदाताहरुमध्ये सबैभन्दा धेरै पहाडी जनजाति (४०.२%) थिए | विशेषगरी सीमापार बेचबिखन, मनोरञ्जन क्षेत्र र इँटाभट्टामा पहाडी जनजातिको संख्या उल्लेखनीय रूपमा बढी थियो। त्यसैगरी समग्र प्रभावित/उत्तरदाताहरुमध्ये १८.२% पहाडी दलित थिए । उनीहरू विशेषगरी मनोरञ्जन क्षेत्रमा बढी थिए। त्यस्तै समग्र प्रभावित/उत्तरदाताहरुमध्ये तराई जनजाति १३.२% थिए र उनीहरू मुख्यतः घरेलु काम र इँटाभट्टा क्षेत्रमा बढी थिए।
- गरिबी, न्यून शैक्षिक स्तर र बाल बेचबिखन तथा बाध्यकारी श्रमको जोखिमबीच बलियो सम्बन्ध रहेको छ। कमजोर आर्थिक अवस्था भएका परिवारमा सामाजिक सुरक्षाको अभाव र आफ्नो आधारभूत आवश्यकताहरू पूरा गर्न सक्षम नभएकोले गर्दा बालबालिकाहरू जोखिमपूर्ण काम गर्न बाध्य हुन्थे वा पारिन्थ्यो। अधिकांश प्रभावित/उत्तरदाताहरू कमजोर आर्थिक अवस्था भएका परिवारका थिए | ती मध्ये धेरैजसोले (८३.८%) आफ्नो परिवारको आम्दानी आधारभूत आवश्यकता पूरा गर्न पर्याप्त नभएको बताएका थिए भने अधिकांशले (८५.८%) बाल्यकालमा आर्थिक कठिनाइ भोगेको बताएका थिए। प्रभावित/उत्तरदाताहरूको शैक्षिक अवस्था पनि निकै कमजोर देखिएको थियो। २४.१% ले कहिल्यै विद्यालय नगएको र २८.४% ले प्राथमिक तहसम्म मात्र अध्ययन गरेको बताएका थिए। विशेषगरी, सीमापार बेचबिखन र इँटाभट्टा क्षेत्रमा बेचबिखनमा परेकाहरूमा यस्तो अवस्था देखिएको थियो। साथै असुरक्षित बसाइँसराइ, झूटा आश्वासन र अनलाइनको माध्यमबाट हुने भर्नाले/काममा लगाईदिनाले बालबालिकाको बेचबिखन र शोषण हुने जोखिम अझ बढाएको देखिन्छ।
- तीनवटै क्षेत्रमा काम गर्ने बालबालिकाहरूले व्यापक दुर्व्यवहार र असुरक्षित काम गर्ने अवस्थाको सामना गर्नुपरेको थियो। सीमापार बेचबिखनका अधिकांश (९३.५%) प्रभावितहरुले कार्यस्थलमा दुर्व्यवहार भोगेको बताएका थिए। त्यस्तै मनोरञ्जन क्षेत्र (८१.९%) र घरेलु काममा रहेका (६३.२%) प्रभावितहरुले पनि कार्यस्थलमा दुर्व्यवहार भोगेको बताएका थिए। अधिकांशले कुनै न कुनै प्रकारको दुर्व्यवहार भोगेको बताएका थिए जसमा सबैभन्दा बढी मौखिक दुर्व्यवहार थियो। त्यसपछि शारीरिक, यौन तथा भावनात्मक दुर्व्यवहारका साथै स्वास्थ्यसम्बन्धी लापरवाही र आर्थिक शोषण पनि थिए। धेरैजसोले यौन हिंसा पनि भोगेका थिए जसमा उनीहरूको इच्छा विपरीत छुने, यौन सम्बन्धका लागि दबाब दिने तथा बलात्कारजस्ता घटना समावेश थिए। यस्ता हिंसाका मुख्य दोषीका रूपमा ग्राहक र रोजगारदाताहरूलाई पहिचान गरिएको थियो। प्रभावित/उत्तरदाताहरूले हिंसालाई प्रणालीगत र सामान्य बताएका थिए जसका कारण उनीहरूमा दीर्घकालीन मानसिक असर परेको थियो। यसका बावजुद पनि सहायता खोज्नेहरु सीमित थिए | प्रभावितहरूको छनौट/निर्णयहरु औपचारिक सेवाहरुमा पहुँचभन्दा पनि डर, लाज र चिनजानबाट प्रभावित थियो। धेरैलाई कानुनी निकायप्रति विश्वास थिएन र बदला लिईने वा आफ्नो घटना सार्वजनिक हुने डर थियो। परिवारले दोष लगाउने र स्वीकार नगर्ने डरले गर्दा प्रभावितहरूले परिवारसँग कमै मात्र सहयोग माग्थे। यस्तो डरका कारण गम्भीर मानसिक तनाव र आत्महत्या गर्ने प्रयाससमेत भएको थियो। प्रभावितहरूलाई धम्की दिने र प्रभावमा पार्ने कारणले गर्दा उनीहरूले दर्ता गरेका उजुरी फिर्ता लिन बाध्य हुने गरेको पनि कानुनी विज्ञहरूले बताएका थिए।
- कम उमेरका/नाबालिग बालबालिकाहरु त्यस्तो काममा संलग्न नभएको सुनिश्चित गर्न जोखिमपूर्ण कार्यस्थलहरूमा पर्याप्त श्रम निरीक्षण हुन सकेको छैन। त्यसैले प्रायः बालबालिकाहरू वर्षौंसम्म यी क्षेत्रहरूमा काम गर्छन् जसको कारण दीर्घकालीन रोग तथा शारीरिक र मानसिक स्वास्थ्यसम्बन्धी समस्या हुन्छ | साथै जोखिमपूर्ण काम गर्ने अवस्थाले दुर्घटना वा जीवनभरका लागि अपाङ्गता निम्त्याउन सक्छ। एकपटक यी क्षेत्रमा काम गर्न थालेपछि बालबालिकाहरु हिंसा, शोषण, बिना पारिश्रमिकको काम, सामाजिक लान्छनाको साथसाथै यौन दुर्व्यवहार र यौन शोषणको थप जोखिममा पर्छन्।
- विशेषगरी सीमापार बेचबिखनकाका केहि प्रभावित/उत्तरदाताहरूले मात्र प्रहरीसँग सम्पर्क वा सहयोग लिएको बताएका थिए। यसले शोषण हुने क्षेत्रमा रहेका जोखिममा परेका व्यक्तिहरू र कानून कार्यान्वयन गर्ने निकायबीच सम्पर्क र समन्वय कमजोर रहेको देखाउँछ। यद्यपी, उद्धारले राहत र आशा मिले पनि कानुनी प्रणालीप्रतिको अविश्वास र कानून कार्यान्वयन गर्ने अधिकारीहरू तथा रोजगारदाताहरू दुबैबाट हुने प्रभावका कारण यो प्रक्रिया प्राय: सहज थिएन।
- प्रभावितहरूले कानून कार्यान्वयन गर्ने निकायमा जान नचाहनुका मुख्य कारणहरूमादुर्व्यवहार, भ्रष्टाचार र सहयोगको अभाव रहेको बताए। सीमापार बेचबिखनका अधिकांश प्रभावित/उत्तरदाताहरूले तस्कर/बेचबिखन गर्ने व्यक्तिको पहिचान गर्न नसक्नु, कानुनी ज्ञानको कमी, प्रमाणको कमी, आर्थिक समस्या, आघात, बदला लिईने डर, सामाजिक लान्छना र न्याय प्रणालीप्रतिको अविश्वासका कारण कानुनी कारबाही गर्न चाहेनन् | सूचना, स्रोतसाधन र योजनामा रहेको कमीकमजोरीका कारण घटना/मुद्दाहरु प्रक्रियाबाट छुट्ने गरेका छन्।विशेषगरी, बाध्यकारी बाल श्रमको क्षेत्रबाट उद्धार भएका प्रभावितहरुकालागि उद्धारपछिको पुनर्स्थापना र पुनःएकीकरणका सेवाहरू निकै कम छन्। केहि प्रभावितहरुले उद्धार/भागेपछि तुरुन्तै कानुनी सहायता र मनोसामाजिक परामर्श पाए पनि मध्यमदेखि दीर्घकालीन सहायता सेवाहरु पर्याप्त वा उपलब्ध नै थिएन | जसले गर्दा प्रभावितहरु दीर्घकालीन रोगहरूसँग जुध्न र आफ्नो समुदायमा दिगो रूपमा पुनःएकीकरण हुन संघर्ष गरिरहेका छन्। धेरैजसो प्रभावितहरु धम्की, डर, कमजोर न्याय प्रणाली र कतिपय अवस्थामा सम्बन्धित अधिकारीहरूबाट हुने खराब वा नराम्रो व्यवहारका कारण अपराधबारे उजुरी गर्न डराउँछन् |काम गरिरहेको ठाउँबाट उद्धार/भागेपछि करिब एक-तिहाइ व्यक्तिहरूले कुनै न कुनै प्रकारको सहयोग पाएका थिए। सबैभन्दा धेरै मनोवैज्ञानिक परामर्श, सीपमूलक तालिम र शैक्षिक सहयोग सेवाहरू पाएका थिए। केही व्यक्तिहरूले भने खाना, बस्ने ठाउँ, शिक्षा वा कानुनी सहायता पनि पाएका थिए। प्रभावितहरूका अनुभवले केही महत्वपूर्ण कमी कमजोरीहरू देखाएका छन्। जस्तै: प्राप्त सीपमूलक तालिमले व्यवहारमा उपयोगी रोजगारी वा आम्दानीको अवसर दिन नसकेको र आर्थिक कठिनाइका कारण केही व्यक्ति फेरि विदेश जान बाध्य भएका थिए। साथै, छोटो समयका लागि मात्र दिइने सहयोगका कारण उनीहरूमा रहेको मानसिक तनाव र आघात लामो समयसम्म रहिरहेको देखिएको छ।
- धेरैजसो प्रभावितहरूले काम छोडिसकेपछि पनि परिवारसँग सम्पर्क गर्न प्रयास गरेका थिए | जसमध्ये धेरैजसोलाई परिवारले, विशेषगरी आमाबुबा वा दाजुभाइ/दिदीबहिनीले माया, सहयोग र साथ दिएकोले उद्धारपछि नयाँ जीवन सुरु गर्न परिवारको महत्वपूर्ण भूमिका रहेको देखाउँछ। तर, केहि व्यक्तिहरूले परिवारले नराम्रो सोच्ने डर, लाज र परिवारसँगको सम्बन्ध गुम्ने डरको कारणले परिवारसँग पुन: सम्पर्क नै गर्न चाहेनन्। परिवारसँग सम्पर्क गरेका व्यक्तिहरूले पनि समाजले नराम्रो दृष्टिले हेर्ने डर र आफ्ना परिवारका सदस्यलाई नराम्रो नलागोस भनेर आफ्नो विगतको सबै कुरा खुलाएर नभनी केही कुरा लुकाउने गरेका थिए। मनोरन्जन क्षेत्रका केहि प्रभावितहरुले (२७.०%) आफ्नो विगत परिवारलाई थाहा भएपछी पनि घरपरिवारले पूर्ण रूपमा स्वीकार गरेको बताएका थिए। धेरैले भने समाजबाट अपमान, भेदभाव वा अस्वीकारको सामना गर्नुपरेको बताएका थिए | उनीहरूबारे समुदायको मानिसहरूले कुरा काट्ने र अनैतिक, विश्वास गर्न नसकिने वा अस्वस्थ व्यक्तिका रूपमा हेर्ने र यसले कहिलेकाहीँ परिवारको व्यवहारमा पनि असर पारेको बताएका थिए | तुलनात्मक रुपमा इँटाभट्टा, गलैंचा, गार्मेन्ट तथा जरी उद्योग र घरेलुमा काम गर्ने धेरैजसोले समुदायबाट सकारात्मक प्रतिक्रिया पाएको र विशेषगरी गलैँचा बुन्ने काममा संलग्न व्यक्तिहरूले नयाँ सीप सिकेको र आफ्नो परिवारलाई सहयोग गरेको भन्दै समुदायबाट प्रशंसा पाएको बताएका थिए।
- बाध्यकारी श्रम गर्न लगाइएको धेरैजसोले (एक तिहाई) अहिले पनि सोही क्षेत्रमै काम गरिरहेका थिए भने बाँकी व्यक्तिहरुले पढाईलाई निरन्तरता, विभिन्न प्रकारको जागिर गरेका थिए वा कुनै पनि आम्दानी हुने काममा संलग्न भएका थिएनन् |
- सबै क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाई विशेषगरी अत्यधिक थकान र कमजोरी, ढाड वा जोर्नीको दुखाई जस्ता मांसपेशी तथा हाडजोर्नीसम्बन्धी समस्याहरूका साथै टाउको दुखाइ र माइग्रेन जस्ता शारीरिक स्वास्थ्य समस्याहरू देखिएका थिए। प्रभावितहरुले लामो समयसम्मको रात्रिकालीन काम गर्नु पर्ने, काम गर्ने असुरक्षित वातावरण, सरसफाईको कमि, पर्याप्त पोषणयुक्त खाना र आराम नपाउनु र स्वास्थ्य उपचारको अभावले गर्दा शारीरिक स्वास्थ्य समस्याहरू रहनुको साथै काम गर्ने क्रममा चोटपटक लागेको वा दिर्घकालिन रोगहरू भएको बताएका थिए।
